आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
९ फागुन २०७८ काठमाडौं । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि मनाइँदैछ ।
संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन शुरु गरेको हो । सोही अनुसार नेपालमा पनि यो दिवस मनाउने गरिन्छ ।
दिवसको अवसरमा आज भाषा आयोगले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । आयोगका अनुसार नेपालमा हाल १ सय २३ ओटा भाषाहरू बोल्ने गरिएको छ ।
यस्तै ४० भाषा सङ्कटमा रहेका छन् भने एक हजार जनाभन्दा कम वक्ता भएका नेपालका ३७ भाषा लोप हुने अवस्थामा रहेको आयोगले जनाएको छ । आयोगले लोपोन्मुख अवस्थामा रहेका भाषाको संरक्षणका लागि काम शुरु भएको पनि बताएको छ ।
आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा वृत्ति दिएर ती भाषा संरक्षणका काम शुरु भएको बताउनुभयो ।
विश्वमा १५ दिनमा दुईवटा भाषा लोप हुने गरेको तथ्य अध्ययनबाट सार्वजनिक भएकाले त्यसो हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा सरकारले पनि जोड दिएको छ ।
प्रतिक्रिया