संसदमा एमसीसीः नेपाली कांग्रेस र वाम शक्तिबीच ध्रुवीकरण (भिडियो रिपोर्टसहित)
८ फागुन २०७८ काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा टेबल हुँदा नेपालमा राजनीतिक दलहरुबीच स्पष्ट ध्रुवीकरण देखिएको छ । एमसीसी जसरी पनि टेबल गर्ने र पारित नै गर्ने संस्थागत निर्णय गरेको नेपाली कांग्रेस र वाम शक्तिहरुबीच ध्रुवीकरण देखिएको हो ।
सत्ता गठबन्धनभित्रै पनि एमसीसी टेबल गर्ने विषयमा भएको सहमति विपरीत नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा बैठकमा उठेरै विरोध जनायो । गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले पार्टीको स्थायी कमिटी बैठकबाट गराएको द्विअर्थी निर्णय र त्यससँगै नेताहरुले दिएका अभिव्यक्तिले उनीहरु एमसीसीको विरोधमा एक ठाउँमा छन् ।
आफ्नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा म्याद थप्न भन्दै अमेरिकालाई गरेको पत्राचार र गठबन्धन बैठकमा टेबल गर्ने सहमतिविपरीत माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रतिनिधिसभा बैठकमा समय लिएरै विरोध जनाउनुभयो ।
यतिसम्मकी यो सरकार बनेदेखि निरन्तर एमालेको विरोधका बाबजुद जबरजस्ती विधेयक पारितको अभ्यासमा आफै संलग्न माओवादीले यतिबेला संसद अवरोध भइरहेका बेला यस्ता विषय टेबल गर्न नहुनेसम्म भन्न भ्यायो ।
यही बैठकमा गठबन्धनमा रहेको अर्को वाम पार्टी जनमोर्चा पनि एमसीसी टेबलको विरोधमै उभियो ।
अर्कोतर्फ गठबन्धन सरकार गठन भएदेखि नै लगातार संसदमा अवरोध गर्दै आएको र एमसीसीलाई गठबन्धन भत्काउने हतियार बनाइरहेको एमाले पनि एमसीसीका सन्दर्भमा सत्तारुढ वाम शक्तिहरुकै कितामा देखियो । एकातिर संसद शुरु भएलगत्तै विरोधका लागि वेल घेर्न पुगेको एमालेका सांसद भीम रावलले एमसीसीलाई राष्ट्रघाती भन्दै विशेष समय लिएर अभिव्यक्ति दिनुभयो ।
विगतदेखि नै विरोध गर्दै आएको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि एमसीसीका विषयमा जनमानसमा फैलाइएका केही भ्रामक सूचनालाई आधार मानेर आफ्नो कुरा राख्नुभयो । यो घटनासँगै नेपालमा एमसीसीविरुद्धको आवाजमा वाम शक्तिहरुबीच अघोषित कार्यगत एकता देखिँदै गएको छ ।
प्रतिनिधिसभा बैठकमा छलफलका लागि भनेर टेबल गरिएको एमसीसी सम्झौतालाई छलफलमै लान नदिने प्रयास सबैजसो वाम शक्तिहरुबाट भएको छ । एमसीसीमा छलफल गर्ने तर पारितसमेत गर्ने अठोट लिएको नेपाली कांग्रेसको साथमा भने लोकतान्त्रिक समाजवादी पार्टी देखिएको छ । एमसीसीका सम्बन्धमा संस्थागत निर्णय गरिनसकेको यो पार्टी संसदमा टेबल भएपछि अब आवश्यक छलफल हुने र जनताका प्रतिनिधिले निर्णय लिन सक्ने विश्वासमा छ ।
संसदका सबै वामघटक एकस्वरमा एमसीसीको विपक्षमा देखिँदा लोसपा, जसपाको लोकतान्त्रिक धार र कांग्रेस एउटा कित्तामा देखिए । नेकपा एमाले संसदबाट एकीकृत समाजवादीका सांसदहरुलाई कारबाही गर्नुपर्ने मागसहित निरन्तर अवरोधमा रहेकै बेला यही पार्टीका सांसद सभामुखसँग समय लिएर एमसीसीको विरोधमा उभिए ।
एमसीसीको विषय नेपालको आफ्नो मात्र नभएर छिमेकी र शक्ति राष्ट्रहरुको समेत चासोको विषय बन्दै जाँदा कुनै न कुनै समयमा एमसीसी परियोजना प्राप्तिका लागि प्रत्यक्ष संलग्न भएका दलहरु अन्ततः प्रजातान्त्रिक र वाम शक्तिका रुपमा ध्रुवीकरणमा पुगेका छन् ।
यो अवस्था आइपुग्दा अब एमसीसीमा संशोधन, परिमार्जन, राष्ट्रिय हित, अहित भन्नेभन्दा पर प्रजातान्त्रिक र वाम शक्तिहरुको इगोको लडाइँका रुपमा अघि बढेको छ । यो लडाइँले एमसीसी सम्झौताका अन्तरवस्तुमा बहस, आवश्यक संशोधन, पारित भन्दा बढी दलहरु वाम र लोकतान्त्रिक विचारको कित्तामा देखिने भएका छन् ।
प्रतिक्रिया