Main News

संसद् बैठक जारी, एमसीसी पेस गरिँदै, एमाले र माओवादीको विरोध, प्रहरी र प्रदर्शनकारीबीच झडप

हिमालय टिभी
२०७८ फागुन ८ गते १४:०४
संसद् बैठक जारी, एमसीसी पेस गरिँदै, एमाले र माओवादीको विरोध, प्रहरी र प्रदर्शनकारीबीच झडप

८ फागुन २०७८ काठमाडौं । प्रतिनिधिसभाको बैठक संसद भवन नयाँ बानेश्वरमा शुरु भएको छ । बैठकमा आज एमसीसी पेश गर्ने कार्यसूची छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता पेस हुने भएको छ ।

सङ्घीय संसद् सचिवालयले आजको बैठकका लागि तय गरेको कार्यसूचीको तेस्रो नम्बरमा उक्त सम्झौता पेस गरिनेछ । अर्थमन्त्री जनार्दन शर्माले सो सम्झौता पेस गर्नुहुनेछ ।

आजको बैठकमा लोक सेवा आयोग विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७–७८ पेस गर्नुहुने कार्यक्रम छ ।

त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) टेबुल गर्ने सहमति गरेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारूढ नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतले भने अहसमति राख्नुभएको थियो ।

प्रमुख सचेतक गुरुङ, सांसदहरु रेखा शर्मा र जयपुरी घर्तीले संसद्मा प्रमुख प्रतिपक्षीको अवरोध जारी रहेको, एमसिसीका केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै असहमति राख्नुभएको थियो ।

संसद बैठकमा नेकपा माओवादीका देवप्रसाद गुरुङ, नेकपा एमालेका भीम रावल र नेमकिपाका प्रेम सुवालले बोल्दै एमसीसी संसदमा पेश गर्न लागेकोमा विरोध गर्नु भएको छ । संसद बाहिर भने एमसीसीको विरोधमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा, टियर ग्यास प्रहार गरेको छ । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् भने केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *