Main News

एमसीसीका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

हिमालय टिभी
२०७८ फागुन ८ गते ७:४८
एमसीसीका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

८ फागुन २०७८ काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई लिएर सत्तारुढ गठबन्धनमा दरार आएका बेला आज फेरि गठबन्धनको बैठक बस्दै छ।

बिहान १० बजे बालुवाटारमा बस्ने बैठकमा एमसीसीमा सहमतिको प्रयास गरिने नेताहरुले बताएका छन् । यसअघि पटकपटकका गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको थियो ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छ। माओवादी केन्द्र भने यथास्थितिमा एमसीसी अघि बढे सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

नेकपा एकीकृत समाजवादी भने केही लचक भएको छ । उसले संसदको अवरोध हटे संसदमा टेबुल गरेर छलफल गर्न दिने निर्णय गरेको छ ।

हिजो बसेको एकीकृत समाजवादीको स्थायी कमिटिको बैठकले एमसीसी टेबल गर्न अवरोध नगर्ने तर यथास्थितिमा एमसीसी अनुमोदन गर्न भने नसक्ने निष्कर्ष निकालेको हो ।

माओवादी र एकीकृत समाजवादीका भ्रातृ संगठनहरु विरोध प्रदर्शनमा उत्रिइसकेका छन् । गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टी भने एमसीसीलाई लिएर विभाजित छ ।

राष्ट्रिय जनमोर्चा भने एमसीसी खारेज गर्नु पर्ने पक्षमा छ। अमेरिकले एमसीसी पास गर्न यही फागुन १६ गतेसम्मको समयसीमा दिएकाले प्रधानमन्त्री शेरबहादुर देउवा तीव्र दबाबमा हुनुहुन्छ।

गठबन्धनले सहयोग नगरे प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अगाडि बढ्ने विकल्पमा प्रधानमन्त्री देखिनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *