एमसीसी : अमेरिका-चीन वाकयुद्धमा, शक्ति राष्ट्रको चेपुवामा नेपाल (भिडियो रिपोर्टसहित)
७ फागुन २०७८ काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतालाई लिएर नेपाल मामिलामा महाशक्ति राष्ट्रहरु अमेरिका र चीन आमनेसामने भएका छन् । एमसीसी सम्झौताको विषयमा नेपालमा मतभेद गहिरिँदै जाँदा राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको अवस्थामा शक्ति राष्ट्रहरुको चेपुवामा नेपाल पर्ने जोखिम बढेको हो ।
वैदेशिक सहायता तथा आर्थिक अनुदान लिने–नलिनेमा नेपाल स्वतन्त्र छ । तर अमेरिकाको आर्थिक अनुदान सहयोग एमसीसी सम्झौताको विषयमा भने नेपालमा अमेरिका र चीन वाकयुद्धमै उत्रिएका छन् । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालबाट एमसीसी फिर्ता भए चीनको कारण ठहर गर्ने र नेपालसँगको कूटनीतिक सम्बन्ध मै पुनर्विचार गर्ने चेतावनी दिएको भन्ने चर्चापछि चीनले कडा जवाफ फर्काएको छ ।
अमेरिकाले एमसीसी सम्झौतालाई लिएर नेपालमा बलजफ्ती कूटनीति अवलम्बन गरको चीनको आरोप छ । बेइजिङमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वन पिनले अमेरिकाले नेपालसँगको सहकार्यको नाममा बलजफ्ती कूटनीति शुरु गरेको आरोप लगाउनु भयो ।
साथै अमेरिकाको बलजफ्ती कूटनीतिको प्रतिवाद गर्ने चीनको चेतावनी छ । चीनको प्रतिक्रिया आएकै दिन काठमाडौंस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले पनि ट्वीट गर्दै एमसीसीलाई लिएर भैरहेका प्रदर्शनप्रति असन्तुष्टि जनाउनुभयो । एससीसीका विषयमा खुला छलफलमा अमेरिका समर्थन गर्ने तर हिंसा गर्ने वा भड्काउने विचार स्वीकार्य नहुने राजदूत बेरीको भनाइ छ । एमसीसी सम्झौता संसदमा टेबुल गर्न भैरहेको ढिलाइ र सम्झौताविरुद्ध भैरहेका सडक संघर्षप्रति अमेरिका रुष्ट छ । एमसीसीविरुद्ध भैरहेको विरोधमा चीनको भूमिका रहेको अमेरिकारको बुझाइ छ भने अमेरिकाको आरोपप्रति चीन थप रुष्ट बनेको छ । एमसीसीलाई लिएर दुई ठूला र शक्तिशाली राष्ट्रको टकरावले नेपाल भूराजनीतिक चपेटामा पर्दै गएको महशुस हुने कूटनीतिक जानकारहरु बताउँछन् ।
एमसीसी सम्झौता स्वीकार गर्ने नगर्ने नेपाल आफैंले निर्णय गर्न स्वतन्त्र छ । तर शक्ति राष्ट्रहरुको अनावश्यक टकराव र दबाब बढ्दा नेपाल थप समस्यामा पर्न सक्ने जोखिम बढेको जानकारहरुको भनाइ छ । एमसीसीमा अमेरिका चीन आमनेसामने हुने अवस्था आउनुमा हाम्रो आफ्नो पनि दोष भएको विज्ञहरुको भनाइ छ ।
विकास निर्माणको नाममा आएको परियोजनालाई लिएर दुई शक्तिशाली मुलुक आमनेसामने हुनु नेपालको हितमा नभएको जानकारहरुको बुझाइ छ । यस्तो अवस्थामा नेपाल चनाखो भएर अघि बढ्नुपर्ने विज्ञहरुको मत छ । असग्लन परराष्ट्रनीति नै नेपालको परराष्ट्रनीतिको मूलमन्त्र भएकाले शक्तिराष्ट्रहरुलाई सोही अनुसार बुझाउन सक्नुपर्दछ ।
प्रतिक्रिया