राजनीति

लिङदेनले आफ्नो राजनीतिक भविष्यनै समाप्त पार्ने प्रयास गरेको थापाको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ७ गते १६:४२
लिङदेनले आफ्नो राजनीतिक भविष्यनै समाप्त पार्ने प्रयास गरेको थापाको आरोप (भिडियो रिपोर्टसहित)

७ फागुन २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो राजनीतिक भविष्यनै समाप्त पार्ने प्रयास गरेको आरोप लगाउनु भएको छ ।

अध्यक्ष थापाले आफूहरुले आदर्श मानेको राजसंस्थाले गुटलाई साथ दिएपछि त्यसमा पुनर्विचार गर्न पार्टी नेतृत्वसँग गरिएको आग्रहलाई बेवास्ता गरेर त्यसलाई रद्दीको टोकरीमा फाल्ने काम भएपछि नयाँ अभियानको शुरुवात गर्नु परेको बताउनु भयो ।

आज काठमाडौंका आयोजित पार्टीको औपचारिक घोषणासभामा बोल्दै उहाँले लिङदेनले एकपक्षीय ढंगबाट पार्टी संचालन गर्ने, आफूहरुलाई पाखा लगाउने र धकेलेर पर पुर्‍याउने परिस्थिति भएपछि निरीह, लाचार र अपमानित भएर बस्नुभन्दा राप्रपा नेपाललाई नै पुनर्जागृत गरेर जाने निर्णयमा पुग्नु परेको बताउनु भयो । अध्यक्ष थापाले आफूसँग बहुमत पक्ष हुँदाहुँदै पनि राप्रपा विभाजन नगरेर अलग भएको पनि पटकपटक दोहोर्‍याउनु भयो ।

उहाँले राप्रपा नेपाललाई छिट्टै राष्ट्रवादी राजनीतिक शक्तिको रुपमा स्थापित गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । अध्यक्ष थापाले भन्नु भयो, ‘मेरो त्यो अनुरोध केवल मेरो व्यक्तिगत अनुरोध मात्रै थिएन । देशभरका धेरै ठूलो संख्यामा रहेका पार्टी कार्यकर्ताहरुको भावना त्यसमा गाँसिएको थियो । तर त्यसलाई नजरअन्दाज गरेर मेरो एउटा सामान्य मागलाई रद्दीको टोकरीमा फाल्ने काम गरियो । त्यसपछि एक पक्षीय ढंगबाट, पूर्वाग्रहपूर्ण ढंगबाट पार्टी संचालन गर्ने कामहरु भयो । हामीलाई योजनावद्ध रुपमा पाखा लगाउने, पार्टीबाट धकेलेर पर पुर्‍याउने परिस्थितिको निर्माण भयो ।

उहाँले भन्नुभयो–राप्रपा नेपालको यो अभियान शुुरु गर्दा हाम्रा कोही शत्रु छैनन् । हिजो हामीसँगै काम गरेका राप्रपा र त्यसका साथीहरु पनि हाम्रो कुनै वैमष्यता र वैरभाव छैन । कसैप्रति हामी रिसराग राख्दैनौं । सकारात्मक सोचका साथ हामी अघि बढ्छौं । हामीमा कसैप्रति नकारात्मक भाव हुनेछैन । यो पार्टी अन्य कुनै पार्टीविरुद्धमा खुलेको पार्टी होइन । यो पार्टी नेपालको राष्ट्रियतालाई बलियो बनाउने, सनातन धर्म, संस्कृतिको संरक्षण गर्दै नेपाललाई हिन्दू राष्ट्र बनाउने, उदार अर्थतन्त्र र सुशासनको माध्यामबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ खडा भएको छ ।’

त्यस अवसरमा अध्यक्ष थापाले राप्रपा नेपाललाई नेतृत्व दिँदै आएका तत्कालिन अध्यक्ष लाक्पा तामाङप्रति आभार व्यक्त गर्दै अब आफूले कहिल्यै धोका नदिने पनि बताउनुभयो । कार्यक्रममा पूर्वमन्त्री राजीव पराजुलीसहितका नेताहरुले कमल थापाको नेतृत्वमा राप्रपा नेपाल मुलुकको भरपर्दाे राजनीतिक शक्तिको रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्