राजनीति

एमसीसी विवादले नेताहरुको दिनचर्या नै वार्तामा केन्द्रित, उपलब्धि शून्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ६ गते २०:४७
एमसीसी विवादले नेताहरुको दिनचर्या नै वार्तामा केन्द्रित, उपलब्धि शून्य (भिडियो रिपोर्टसहित)

६ फागुन २०७८ काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विषयलाई लिएर नेपालको राजनीति तातेको छ । प्रतिनिधिसभाको बैठक तोकिएसँगै एमसीसी टेबल गर्ने चर्चा हुने तर सत्तारुढ दलभित्रै कुरा नमिल्दा संसद बैठक औपचारिकतामा सीमित बन्दै गएको छ । यसबीचमा नेताहरुको भेटघाट भने बाक्लिएको छ ।

सरकार एमसीसीबारे अनिर्णित बनिरहेका बेला अमेरिकाले फागुन १६ को अन्तिम डेटलाइन तोक्यो । एमसीसी प्रस्ताव संसदमा अघि बढाउने कि नबढाउने निर्णय गर्न अमेरिकाले ताकेता गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा सहमति खोज्न सक्रिय हुनुहुन्छ ।

उसो त सत्तारुढ दलभित्र एमसीसी संसदमा टेबल गर्न सहमति जुटेको खबर ३ दिन पनि टिकेन । बुधबारको संसद बैठकमा सो प्रस्ताव टेबल हुने बताइएपनि मंगलबार बेलुकी नै सत्तारुढ गठबन्धनभित्र अविश्वासको अवस्था बन्यो । बुधबार संसद बैठक बस्नुअघि माओवादी संसदीय दलको बैठक बस्यो । सो बैठकले एमसीसी संसदमा टेबल भए गठबन्धन छाड्ने निर्णय गर्‍यो ।

संसदीय दलको बैठकको निर्णय लिएर प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभयो । बालुवाटारमा प्रचण्डले संसदीय दलको निर्णय सुनाउँदा प्रधानमन्त्री देउवा र प्रचण्डबीच नोकझोक नै भयो । प्रचण्डले थप छलफल गरौं भनेपछि बुधबार संसदको कार्यसूचीमा एमसीसीको प्रस्ताव राखिएन । तर, कांग्रेसले बिहीबार छलफलका लागि पर्खे पनि शुक्रबार संसद बैठकमा एमसीसी लैजाने बतायो ।

बिहीबार दिउँसो ३ बजे सत्ता गठबन्धनका ५ दलको बैठक बोलाइयो । तर, बिहानै प्रभानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुग्नुभयो । देउवासँगको भेटपछि प्रचण्डले माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठसँग अलग्गै संवाद गर्नुभयो । गठबन्धनका ३ दलका नेताको सो छलफलपछि प्रचण्डले एमसीसीमा निकास खोज्ने र गठबन्धन जोगाउने प्रतिक्रिया दिनुभयो ।

प्रचण्डले बिहीबार बालुवाटारमा देउवा भेटिरहँदा देउवाका दूतका रुपमा मीनेन्द्र रिजाल केपी ओली भेट्न बालकोट पुगिसक्नु भएको थियो । बिहीबार बेलुकी ५ बजे नै बालुवाटारमा सत्तागठबन्धनको बैठक बस्यो । तर, बैठकमा कुनै सहमति जुटेन । बैठकपछि प्रभानमन्त्री देउवा ओली भेट्न बेलुकी ८ बजे बालकोट पुग्नुभयो । शुक्रबार बिहान १० बजे पुन सत्तागठबन्धनका दलहरुको बैठक बस्यो । तर, बैठक आइतबार पुनः बस्ने गरी सकियो ।

सत्तागठबन्धन र प्रतिपक्षी दलका नेताहरुबीच संवादको श्रृङ्खला जारी नै छ । तर, सबै दल आआफ्नै अडानमा कायम रहँदा एमसीसीको सकस भने उस्तै छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्