प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसी टेबल गर्ने सरकारको तयारी

६ फागुन २०७८ काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै विषय छ। हिजो साँझ सार्वजनिक सम्भावित कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी प्रस्ताव परेको छैन ।
बैठक दिउँसो एक बजे बस्नेछ । प्रतिनिधि सभा बैठकअघि कार्यसूचीबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।
एमसीसीबारे आजै बस्ने गठबन्धन बैठकबाट साझा धारणा आउने र कार्यव्यवस्था परामर्श समितिमार्फत प्रतिनिधि सभाको बैठको सूचीमा एमसीसी पर्ने नेपाली कांग्रेसको विश्वास छ ।
उता नेकपा एमाले भने आज पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बहिष्कार गर्ने तयारीमा छ । तथापि यसबारे आधिकारिक निर्णय गरिसकेको छैन ।
कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने सभामुखको सचिवालयले जनाएको छ।
प्रतिक्रिया