Main News

सत्ता साझेदार दलको बैठक शुक्रबार पुनः बस्ने

हिमालय टिभी
२०७८ फागुन ५ गते २०:३८
सत्ता साझेदार दलको बैठक शुक्रबार पुनः बस्ने

५ फागुन २०७८ काठमाडौं । प्रतिनिधिसभाको भोलिको बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक भोलि शुक्रबार पुनः बस्ने भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज साँझ बसेको बैठक निष्र्कषमा नटुङ्गिएकाले पुनः छलफल गर्न भोलि बिहान १० बजे बस्ने गरी आजको बैठक समाप्त भएको हो ।

आजको बैठकमा प्रतिनिधिसभाको बैठक बिनाव्यवधान सञ्चालन गर्ने तथा एमसिसी सम्झौता टेबल गर्नेबारेमा घनीभूत छलफल भएको र त्यो सकारात्मक रहेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभयो । “सत्ता साझेदार दलबीचको छलफल जारी रहेकाले भोलि बिहान १० बजे हुने बैठकले निर्णय गर्नेगरी आजको बैठक समाप्त भएको छ”, मन्त्री कार्कीले भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी प्रधान कार्यालयले यही फागुन १६ गतेभित्र सम्झौता अनुमोदनका निम्ति गरेको आग्रहलाई समयमै पूरा गर्न नेतृत्वपङ्क्तिलाई अनुरोध गर्नुभएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रतिनिधिसभामा उक्त सम्झौता हिजो बुधबार टेबल गर्ने तयारी गरेको भए पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो । भोलिको बैठकमा एमसिसीलाई टेबल गर्न सत्ता साझेदार दलबीच सहमति जुटाउनुपर्नेमा अध्यक्ष दाहालले जोड दिनुभएको थियो । सत्ता गठबन्धनबीचको सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने उहाँको अभिमत थियो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, कांग्रेसका महामन्त्री गगनकुमार थापा, सोही पार्टीका नेताहरू कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी)का तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालबाट बाबुराम भट्टराई बैठकमा उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *