Main News

एमसीसी टेबुल गर्न सहमति जुटेन, संसद बैठक स्थगित

हिमालय टिभी
२०७८ फागुन ४ गते १३:५१
एमसीसी टेबुल गर्न सहमति जुटेन, संसद बैठक स्थगित

४ फागुन २०७८ काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता टेबुल हुन सकेन ।

उक्त प्रस्तावलाई कार्यसूचीमा राख्नेनराख्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता गठबन्धनभित्रै दुई थरी मत आएपछि आज पेस नगर्ने स्थिति बनेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुले यस प्रकारको राष्ट्रिय विषयमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लाई सहमति नलिई अघि नबढ्ने विगतको अभ्यासलाई ध्यानमा राखेर निर्णयमा पुग्नुपर्ने बताउनुभएको थियो । प्रतिपक्षलाई विश्वासमा लिएर नजाँदा लोकतन्त्र ‘डिरेल’ हुने उहाँहरुको तर्क थियो ।

नेपाली कांग्रेसतर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू लगायतले सो प्रस्ताव पेस गर्नुपर्ने अडान राख्नुभएको थियो । बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) भने अनुपस्थित रहेको थियो ।

यसैबीच प्रतिनिधिसभाको आजको बैठकले विभिन्न समयमा दिवङ्गत हुनुभएका तीन पूर्वसांसद तथा तत्कालीन संविधानसभाका सदस्यको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले छुट्टाछुट्टै पेश गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । बैठकले नेपाली कांग्रेसकोतर्फबाट २०६४ सालको संविधानसभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य जगतबहादुर ताजपुरियाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । ताजपुरियाको ७८ वर्षको उमेरमा गत पुस १७ गते शनिबार निधन भएको थियो ।

त्यसैगरी बैठकले राष्ट्रियसभामा २०५८ सालमा तत्कालीन नेकपा (एमाले) का तर्फबाट निर्वाचित सदस्य नेता लक्ष्मीदास मानन्धरको निधनप्रति पनि शोक प्रस्ताव पारित गरेको छ । मानन्धरको ९३ वर्षको उमेरमा गत माघ ६ गते निधन भएको थियो ।

यस्तै बैठकले २०७० सालको संविधानसभामा तत्कालीन एमालेकातर्फबाट निर्वाचित सदस्य डा दुमनसिंह थापाको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । थापाको ६३ वर्षको उमेरमा गत माघ १६ गते निधन भएको थियो ।

बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *