राजनीति

अश्लील अभिव्यक्तिका कारण मन्त्री प्रेम आले फेरि विवादमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ३ गते २०:४९
अश्लील अभिव्यक्तिका कारण मन्त्री प्रेम आले फेरि विवादमा (भिडियो रिपोर्टसहित)

३ फागुन २०७८ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले अहिले आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । जगत ओली नाम गरेका एक युवाले अश्लील अडियो सम्वाद सार्वजनिक गरिदिएपछि मन्त्री आले विवादमा तानिएका हुन् ।

मन्त्रीको ओहदामा रहेको व्यक्तिले अश्लील शब्द प्रयोग गर्दै धम्की दिएको भन्दै आलेको आलोचना मात्र होइन, राजीनामाकै माग भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारतमा रहेका अछामका जगत ओलीलाई गरेको अश्लील गाली सामाजिक सन्जालमा भाइरल बन्यो । २ मिनेट २५ सेकेण्डको अडियोमा आलेले आफूविरुद्ध फेसबुकमा जथाभावी किन लेखेको भन्दै जंगिएका मात्र छैनन्, अश्लील शब्दप्रयोग गर्दै ज्यान मार्ने धम्की नै दिएका छन् ।

यो अडियो अहिलेको भने होइन । यसअघि वनमन्त्री रहेका बेला ओलीले आलेको अश्लील र धम्कीपूर्ण अडियो रेकर्ड गरे पनि अहिले सार्वजनिक भएको हो । भनिन्छ, मानिसले आवेगमा विवेक गुमाउनु हुँदैन । तर, अडियोमा आलेको आवेगको पारो यति चढेको छ की उनले प्रयोग गरेका शब्दहरु न त सुन्न सकिन्छ, न त जस्ताको तस्तै सुनाउन नै ।

मन्त्री आले र ओलीबीचको संवाद अंश अपाच्य छ । ओलीले ५० लाख बार्गेनिङ गरेको र नदिएपछि बाहिर ल्याएको च्याट आलेले अडियो आएपछि सार्वजनिक गरेका छन् । अडियोलाई लिएर बार्गेनिङको विषयमा आले कानूनी उपचारको बाटो समाउन स्वतन्त्र छन् ।

सामाजिक सञ्जालमा कसैले केही लेखेको भए त्यसविरुद्ध पनि उजुरी गर्न सकिन्छ नै । तर, आलेले त्यस्तो बाटो समातेनन् । आलेले मानवीय सामान्य आचारण समेत भुले । आलेले जस्ता शब्द प्रयोग गरे त्यसमा कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने मत जवर्जस्त रुपमा उठेको छ । समाजले सुन्नै नसक्ने अभिव्यक्ति दिने व्यक्ति मन्त्री पदमा बसिरहन नमिल्ने भन्दै आलेको राजीनामा मागिएको छ ।

अर्की मन्त्री रेणु यादवले गौरनरसंहार दोहोरिने चेतावनी दिएको भिडियो यसअघि सार्वजनिक भयो । तर, न त उनीमाथि कारवाही भयो, न त समाान्य सोधपुछनै । यादव र आलेजस्ता सामान्य शिष्टतासमेत भुल्ने मन्त्री नागरिकले कहिलेसम्म झेलिरहने ? के मन्त्री भएपछि अपाच्य,अश्लील र धम्कीपूर्ण अभिव्यक्ति दिन छुट पाइने हो ? यतिबेला नागरिकले सरकारसँग प्रश्न सोधिरहेका छन् ।

कुनै पनि बहानामा अपशब्द प्रयोग गर्ने छुट कसैलाई पनि दिइएको छैन । अझ मन्त्री त नागरिकभन्दा झन् बढी जिम्मेवार हुनुपर्छ । गैरजिम्मेवार अभिव्यक्तिका लागि राजीनामा मात्र होइन, कानूनी कारवाहीकै दायरामा ल्याउनुपर्छ । अन्यथा भविष्यमा पनि यस्ता गैरजिम्मेवार र अशिष्ट मन्त्री झेल्न नागरिक बाध्य नहोलान् भन्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्