राजनीति

यस्ता छन् अभिव्यक्ति अनियन्त्रित हुँदा पद गुमाउने र धरापमा पर्नेहरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ३ गते २०:४०
यस्ता छन् अभिव्यक्ति अनियन्त्रित हुँदा पद गुमाउने र धरापमा पर्नेहरु (भिडियो रिपोर्टसहित)

३ फागुन २०७८ काठमाडौं । नेपालमा बेलाबेला मन्त्री तथा नेताहरु आफ्नै अभिव्यक्तिका कारण आलोचित हुने गरेका छन् । केहीले पदबाटै हात धुनुपरेको छ भने केही पार्टीबाटै निष्कासित हुनुपरेको छ । वर्तमान सरकारका केही मन्त्री पनि अभिव्यक्तिकै कारण विवादित बनेका छन् ।

जिम्मेवारीमा रहेका व्यक्तिहरुको आचरण, व्यवहार र बोली शिष्ट र सभ्य हुनुपर्छ । तर, केही व्यक्ति यस्ता छन् जो आफ्नो पदीय मर्यादा भुल्न पुग्छन् । यसको पछिल्लो उदाहरण हुन्, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले । सामाजिक सञ्जालमा टिप्पणी गर्नेविरुद्ध अश्लील गाली र अपहरण गर्नेसम्मको धम्की दिएको अडियो क्लिपका कारण अहिले उनी विवादमा तानिएका छन् । पछिल्लो समय केही चर्चा कमाएका आले अश्लील बोलेको अडियो सार्वजनिक भएपछि चर्को आलोचना खेपिरहेका छन् ।

सरकारकै अर्की मन्त्री रेणु यादव बोलेरै विवादमा आएकी अर्की पात्र हुन् । मधेसमा आयोजित कार्यक्रममा उनले माओवादी कार्यकर्ताको हत्या भएको गौर नरसंहारजस्तै सीके राउतको हत्या गर्ने धम्की दिएपछि विवादमा तानिइन् । यो प्रकरणमा उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग अझै गरिँदैछ ।

हालकी सहरी विकासमन्त्री रामकुमारी झाँक्री पनि अभिव्यक्तिकै कारण विवादमा मात्र तानिइनन्, प्रहरी हिरासतमै पुगिन् । २०७४ सालको निर्वाचनपछि उनले गुल्मीका एक शिक्षकलाई खुट्टा भाँचिदिने भन्दै धम्की दिएपछि विवादीत बनिन् भने राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्धको अभिव्यक्तिका कारण पक्राउ समेत परिन् ।

यसअघि कानूनमन्त्री रहेका बेला एमाले नेता शेरबहादुर तामाङ पनि विवादमा तनिए । चावहिलको एक विद्यालयमा भएको सम्मान कार्यक्रममा बोल्दै बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका महिला विद्यार्थीका बारेमा गरेको टिप्पणीका कारण उनी सरकारबाट बाहिरिए । त्यस्तै, तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि अश्लील बोलेको अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिन बाध्य भए ।

त्यसअघि शरतसिंह भण्डारी पनि देश टुक्रन सक्ने भन्ने अभिव्यक्ति दिएपछि रक्षामन्त्रीबाट हट्न बाध्य भएका थिए ।अर्का विवादीत पात्र हुन् सरिता गिरी । उनले लिपुलेक, कालापानी नेपालको नक्सामा राख्दा भारतलाई सोध्नुपर्ने अभिव्यक्ति दिएपछि पार्टीबाटै निष्कासित हुनुपर्‍यो ।

विवादीत अभिव्यक्तिका कारण यसरी विवादमा तानिने र सामाजिक छविनै धुमिल भएका अरु पनि थुप्रै नेता छन् । सामाजिक व्यक्तित्व बनाइसकेका व्यक्तिहरुले बोलीमा लगाम नलगाउँदा त्यसको महँगो मूल्य चुकाउँदै आएका छन् र चुकाउनुपर्ने पक्का छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्