राजनीति

एमालेबिनाको सर्वदलीय बैठकमा संसद सुचारु गराउन पहल गर्ने सहमति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २ गते १९:४४
एमालेबिनाको सर्वदलीय बैठकमा संसद सुचारु गराउन पहल गर्ने सहमति (भिडियो रिपोर्टसहित)

२ फागुन २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गर्नु भएको सर्वदलीय बैठकमा संसद सुचारु गराउन गम्भिर पहल गर्ने सहमति भएको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेलाई समेत सहमतिमा ल्याएर संसद सुचारु गराउन सरकार र सत्तारुढ दलहरुले गम्भिर पहल गर्ने महत्वपूर्ण सहमसित गरिएको सभामुख सापकोटाले जानकारी दिनुभयो । उहाँले संसदमा विचाराधीन नागरिकतासँग सम्बन्धित विधेयक, हवाई उडानसँग सम्बन्धित विधेयकलगायतका जनसरोकारका विधेयकहरु पारित हुने वातावरण बनाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र दलका नेताहरुको ध्यानाकर्षण गराइएको पनि बताउनु भयो ।

सभामुख सापकोटाले एमालेसँग संवाद गरेर संसद सुचारु गराउन बैठकले महत्वपूर्ण आधार प्रदान गरेको विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘निरन्तर विपक्षसँग सरकारले, सत्तारुढ गठबन्धनले निरन्तर अन्तरक्रिया, छलफल गरेर संसद सुचारु गर्नका लागि पहल गर्ने, प्रयत्न गर्ने र सदनमा छलफलको वातावरण तयार पार्नेलगायतका विषयहरुमा धेरै कोणबाट धेरै महत्वपूर्ण छलफल भएको छ ।’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सहमतिमा ल्याएर संसद सुचारु गराउने विषयमा छलफल गरिएको सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले बताउनु भयो । उहाँले एमालेले जुन विषय उठाएर जनताको सार्वभौमथलो संसदलाई अवरुद्ध पारिरहेको छ, त्यो गैरकानुनी, असंवैधानिक र गलत रहेको दावी समेत गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘संसदलाई कसरी सुचारु गर्ने भन्ने विषयमा केन्द्रित भएर छलफल भएको छ । त्यसैगरी संसदमा विचाराधीन ४२ वटा विधेयकलाई अघि बढाउने विषयमा पनि छलफल गरिएको छ । प्रतिपक्षलाई पनि सहमतिमा ल्याएर संसद सुचारु गराउने सहमति भएको छ ।’

बैठकमा सत्तारुढ गठबन्धनले पनि संसदमा विचाराधीन ४२ वटा विधेयक रहेको उल्लेख गर्दै त्यसलाई अघि बढाउन नदिएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेको आलोचना गरेका थिए भने सभामुख सापकोटाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने ती विधेयकहरु अघि बढाउन सरकार र सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्ष दल एमालेसँग निरन्तर छलफल गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्