Main News

जटिलतालाई चिर्दै सञ्चालनमा आयो सोलु करिडोर प्रसारण लाइन

हिमालय टिभी
२०७८ फागुन २ गते १५:१५
जटिलतालाई चिर्दै सञ्चालनमा आयो सोलु करिडोर  प्रसारण लाइन

२ फागुन २०७८ काठमाडौं । लामो विवाद, स्थानीयवासीको अवरोध तथा वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्यालगायत रुग्ण बनेको सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा आएको छ ।

नेपालका हरेक प्रसारण लाइन निर्माणमा जस्तै साझा समस्याले सताएकामा सो प्रसारण लाइन सञ्चालनमा आएपछि सोलु करिडोरमा निर्माण भएका, निर्माणमा क्रममा रहेका तथा निर्माण सुरु गर्न लागेका जलविद्युत् आयोजनालाई राहत मिलेको छ ।

नेपाल विद्युत् प्राधिकरणले ४५ प्रतिशत हर्जना तिर्नुपर्ने समस्याबाट समेत मुक्ति पाएको छ । राजनीतिक नेतृत्वको सार्थक सहयोग र कार्यान्वयन गर्ने निकायको निरन्तर प्रयासका कारण ढिलै भए पनि एउटा महत्वपूर्ण प्रसारण लाइनको निर्माण भएको छ ।यसअघि कोशी करिडोर निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको थियो भने नुवाकोटको समुन्द्रटार त्रिशूली प्रसारण लाइन पनि सम्पन्न भइसकेको छ ।

प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदा ‘सुपर सिक्स’ मा रहेका केही आयोजनाका विद्युत् खेर गई प्राधिकरणले हर्जना तिर्नुपर्ने अवस्था आइलागेको थियो । सोलुखोला जलाधरा क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन आएको प्राधिकरणले जनाएको छ ।

नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको प्रसारण लाइनलाई आज बिहान ११.३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको छ । सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिङलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर छ । सो प्रसारण लाइनमा टावरको सङ्ख्या ३०२ छ ।

सोलु करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत तिङलामा १३२÷३३ केभी, ३० एमभिए र ३३÷११ केभी, आठ एमभिए क्षमताको सवस्टेशन निर्माण गरिएको छ । सवस्टेशसन निर्माण गरी ७ भदौ २०७६ देखि सञ्चालनमा छ । तिङला सवस्टेशसनबाटै सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङमा विद्युत् आपूर्ति हुने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदार छनोट भएको विवाद, सर्वोच्च अदालतको अन्तरिम आदेश र तोकिएको मार्ग परिवर्तन गर्न माग गर्दै स्थानीयवासीबाट भएको अवरोध, जटिल भौगोलिक अवस्थालगायत कारण आयोजना निर्माणमा केही ढिलाइ भएको बताउनुभयो ।

सोही प्रसारण लाइनको विवादमा संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरेको थियो । “सोलु नदी बेसिनमा निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ, निर्माण सम्पन्न भई बर्खाको समयमा पूर्ण क्षमतामा चल्न नसकेको २३ दशमलव पाँच मेगावाटको सोलु खोला र निर्माणाधीन जलविद्युत् आयोजनाको प्रसारण पूर्वाधार अभावमा विद्युत् प्रवाहको समस्या समाधान भएको छ” कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।सो नदी करिडोरमा रहेका आयोजनाको विद्युत् सोलु करिडोरमा प्रवाह भएपछि मिर्चैयाबाट पूर्वतर्फ पठाएर सप्तरी, सुनसरी, मोरङलगायत जिल्लामा सहजरुपमा बिजुली उपलब्ध गराउन सकिनेछ । स्वदेशी उत्पादनबाट आपूर्ति दिन सकिने जानकारी दिँदै प्राधिकरणले बढी भएको विद्युत् ढल्केबर सवस्टेशनबाट भारततर्फ निर्यात गर्न पनि सहज हुनेछ ।

उहाँले तिङला सवस्टेशनबाट विद्युत् आपूर्ति गर्न दिइने हुँदा अब सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङको विद्युत् सेवा भरपर्दो र गुणस्तरीय हुनाका साथै चुहावट पनि घट्ने जानकारी दिनुभयो । कूल २३ दशमलव पाँच मेगावाटको सोलु खोलासहित १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु खोला (दूधकोसी) ८२ मेगावाटको तल्लो सोलु खोलालगायत जलविद्युत् आयोजनाको विद्युत् तिङ्ला सवस्टेशनमा जोडिने छ । यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत् आयोजनासँग ३२५ मेगावाटको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ ।

सोलु करिडोर प्रसारण लाइनको निर्माणमा केही ढिला हुने देखिएपछि २३दशमलव पाँच मेगावाटको सोलु खोला जलविद्युत् आयोजनाको विद्युत् गत फागुनदेखि अस्थायी रुपमा ३३ केभी लाइनमा जोडिएको थियो । प्रसारण लाइनको मार्ग सार्न माग गर्दै उदयपुरको कटारी नगरपालिका—४ मरुवामा करिब दुई वर्षस्थानीयवासीले अवरोध पु¥याएका थिए ।

सोलु करिडोर प्रसारण लाइन आयोजना निर्माणमा धेरै ठूला समस्या र अवरोध भोगिएको र यसबाट पाठ सिक्दै अन्य आयोजना निर्माण गरिनुपर्ने आयोजना प्रमुख जनार्दन गौतमले बताउनुभयो । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२को चैतमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७३ असोजदेखि कार्यान्वयनमा आएको थियो ।अनेक विवादका कारण आयोजनामा ढिलाइ हुन पुगेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *