महाअभियोगबारे छलफल गर्न एमाले संसदीय दलको बैठक आज बस्दै
२ फागुन २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोग प्रस्ताव दर्तापछिको रणनीतिका बारेमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा स्थानीय तहको निर्वाचन, बदलिँदो राजनीतिक अवस्था र पार्टीले बनाउने रणनीतिका बारेमा बैठकमा छलफल हुनेछ ।
सरकारमा रहेका दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नुलाई स्थानीय तहको चुनावको मिति पर धकेल्ने षड्यन्त्रका रूपमा आफूहरूले बुझेको भन्दै प्रमुख सचेतक भट्टराईले सांसदहरूको सुझावका आधारमा निर्णय गरिने जानकारी दिनुभयो ।
हिजो साँझ बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले जबराविरूद्धको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया