Main News

मुलुकमा १० वर्षसम्म चलेको युद्धकाे नाफा घाटा के रह्यो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १ गते २०:४३
मुलुकमा १० वर्षसम्म चलेको युद्धकाे नाफा घाटा के रह्यो ? (भिडियो रिपोर्टसहित)

१ फागुन २०७८ काठमाडौं । मुलुकमा जनगणतन्त्र स्थापनाका लागि भन्दै नेकपा माओवादीले सशस्त्र युद्ध शुरु गरेको दिन फागुन १ गते । २७ वर्षअघि सशस्त्र युद्ध शुरु गरेको दिनलाई माओवादी र माओवादीबाट चोइटिएका विभिन्न समूहले आज जनयुद्ध दिवस मनाएका छन् । मुलुकमा १० वर्षसम्म चलेको युद्धको नाफाघाटा के रह्यो त ?

२७ वर्षअघि २०५२ साल फागुन १ गते शुरु भएको माओवादी सशस्त्र द्वन्द्व १० वर्षसम्म चल्यो । २०६३ साल मंसिर ५ गते सरकारसँग भएको विस्तृत शान्ति सम्झौतासँगै माओवादीले हतियार बिसाएर शान्तिपूर्ण राजनीति शुरु गर्‍यो ।

२००७ सालदेखि संविधानसभाबाट संविधान जारी गर्ने नेपाली जनताको सपना सशस्त्र युद्धकै जगमा साकार भयो । सशस्त्र युद्धको अवतरणसँगै संविधानसभा निर्वाचनको उद्घोश भयो र संविधानसभाबाटै संविधान जारी भयो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताजस्ता उपलब्धिको कुनै न कुनै जस माओवादीले शुरु गरेको सशस्त्र युद्धलाई जाने गरेको छ ।

सशस्त्र युद्धपछि देशले जति उपब्धि हासिल गर्‍यो, उतिकै गुमाएको पनि छ । विद्रोही समूह माओवादी र राज्यका तर्फबाट १७ हजार नागरिक मारिए । युद्धकै क्रममा कयौँ व्यक्ति घाइते र कयौँ व्यक्ति बेपत्ता भए। युद्धका क्रममा भौतिक संरचना क्षतिग्रस्त हुँदा अर्बौंको सम्पत्ति नोक्सान भयो । युद्धकै कारण मुलुकबाट युवापुस्ता पलायन मात्रै भएन ठुलो बौद्धिक जमात देश छाड्न बाध्य भयो ।

सशस्त्र युद्ध समापन भएयता देशमा धेरै सरकार बने । ती सरकारको नेतृत्व कतिपय अवस्थामा माओवादी आफैंले गरेको छ भने अधिकांश समय सरकारमा सहभागी छ । तर माओवादी पनि त्यसअघिकै दलहरु जस्तै व्यक्तिवाद र परिवारवादमा केन्द्रित बन्दै गएको छ । जसबाट आम रुपमा माओवादीमाथिको भरोसा कमजोर देखिँदै गएको छ ।

माओवादीले समानताका लागि भन्दै तत्कालीन शासकविरुद्ध विद्रोहको बिगुल फुकेको थियो । तर जसरी विद्रोह गरियो त्यसबाट निर्दोषको पनि ज्यान जाने अवस्था बन्यो । युद्धकै नाममा कतिले गलत फाइदा उठाए ,लुटपाट मच्चाए ।

एउटै उद्देश्यले युद्ध शुरु गरेर शान्तिप्रक्रियामा आएका माओवादी नेताहरु आज विभिन्न समूहमा विभाजित छन् । सशस्त्र युद्धका कारण विभिन्न उपलब्धि हासिल भए पनि देशको आर्थिक सामाजिक रुपान्तरणको गति सुस्त हुँदा सशस्त्र युद्धलाई सकारात्मक रुपमा भन्दा नकारात्मक रुपमा लिने नेपालीहरुको संख्या बढी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *