यस्तो रहनेछ आजको मौसमी अवस्था

१ फागुन २०७८ काठमाडौं । अबको केही दिन दिउँसो मौसम खुल्ने भएकाले अधिकतम तापक्रम बढ्दै जाने मौसमविदले बताएका छन् ।
अहिले तत्कालका लागि वर्षा र हिमपात गराउने कुनै प्रणाली सक्रिय नभएकाले बिहान हल्का हुस्सु लागेपनि दिउँसो मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बिहान बेलुका चिसो भएपनि दिउँसो भने घाम लागेर न्यानो हुँदै जाने जानकारी दिनुभयो । उहाँका अनुसार सामान्यतया फेबु्रअरी महिनासम्म जाडो हुने भएकाले अब क्रमिक रुपमा दिन तात्दै जान्छन् । तर राति मौसम खुलेपछि बिहान न्यूनतम तापक्रम भने घटेर केही चिसो नै हुने उहाँको भनाइ छ ।
आज बिहान ६ दशमलव ५ डिग्री सेल्सियसमा मापन गरिएको काठमाडौँको हिजोको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस थियो । राति बादल लागेकाले बिहानको तापक्रम थोरै बढेको मौसमविद् पौडेलको भनाइ छ ।
उहाँका अनुसार राति बादल लाग्दा जमिन चिसो हुन पाउँदैन । यसले बिहानको तापक्रम घट्न दिँदैन । तर राति आकाश खुल्ला हुँदा जमिन चिसो भएर बिहानको तापक्रम पनि घट्छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ भने तराईका केही भूभागमा हुस्सु कुहिरो लागेको छ ।
यो अपरान्हपछि बिस्तारै हटेर जाने भएकाले न्यानो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर घाम लाग्दै बादल लाग्नेछ ।
प्रतिक्रिया