Main News

एमसीसी अनुमोदन गर्ने विषयमा दलहरुको छलफलमा यस्तो अलमल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २९ गते २०:४७
एमसीसी अनुमोदन गर्ने विषयमा दलहरुको छलफलमा यस्तो अलमल (भिडियो रिपोर्टसहित)

२९ माघ २०७८ काठमाडौं । एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा समान धारणा बनाउन भन्दै सत्तारुढ दलहरुबीचमा पटक पटक छलफल हुँदै आएका छन् । आज पनि बालुवाटारमा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता बीच छलफल भयो तर कुनै निश्कर्ष भने निस्कन सकेन ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन गरी कार्यान्वयन गर्ने विषयमा सत्तागठबन्धनभित्रै मतभेद छ । नेपाली कांग्रेस सम्झौता अनुमोदन गर्ने पक्षमा छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनबिना अनुमोदन गर्न नहुने पक्षमा छ ।

गठबन्धनको अर्को घटक जनता समाजवादीभित्र पनि एमसीसी सम्झौताका विषयमा एकमत छैन । जनमोर्चा एमसीसी फिर्ता पठाउनु पर्ने पक्षमा छ ।

गठबन्धनमा आवद्ध दलहरुकै बीचमा मतभेद भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पटकपटक छलफल चलाउनु भएको छ तर परिणाम आउन सकेको छैन । एमसीसी सम्झौताकै विषयमा छलफल गर्न भन्दै गठबन्धनका मुख्य तीन घटक कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बीचमा शनिबार पनि झण्डै दुई घण्टा छलफल भयो । तर छलफलको परिणाम भने कसैलाई जानकारी गराइएन।

एमसीसीका विषयमा सर्वत्र चासो र संशय छ । तर सत्ता गठबन्धनका शीर्ष नेताहरु दिनदिनै छलफल गर्ने र ठोस निस्कर्षमा पुग्न असफल हुने क्रम लामो समयदेखि चलिरहेको छ । जसका कारण एमसीसी थप गिजोलिँदै गएको छ ।

एमसीसी सम्झौताका विषयमा तत्काल निर्णय गर्न अमेरिकाले दबाब दिइरहेको छ । उसले पछिल्लो पटक दिएको फागुन १६ को समय सीमा घर्काउन नदिने र संशोधन पनि नगर्ने बताइसकेको छ । अमेरिकाको चेतावनीका बाबजुद पनि दलहरुले एमसीसीका विषयमा गरिरहेको पानी मथेर घ्यू निकाल्ने प्रयासले नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा धुमिल हुने अवस्था आइसकेको छ ।

राजनीतिको तुलोमा एकातिर भोट र अर्कोतिर एमसीसीलाई राखेर हिसाब किताब मिलाउन खोजिरहेका दलहरु समयमै निर्णयमा पुग्न नसक्दा यसले पार्ने दीर्घकालीन प्रभावबारे कसले सोचिदिने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *