Main News

खुल्ला हुँदै भिडभाड हुने स्थानः फेरि कोरोना संक्रमणको जोखिम बढ्ने त होइन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २५ गते १८:०५
खुल्ला हुँदै भिडभाड हुने स्थानः फेरि कोरोना संक्रमणको जोखिम बढ्ने त होइन ? (भिडियो रिपोर्टसहित)

२५ माघ २०७८ काठमाडौं । कोरोना संक्रमितको संख्या अहिले पनि एक हजारभन्दा कम हुन सकेको छैन । दैनिक एक हजारभन्दा बढीमा संक्रमण पुष्टि भइरहेका छन् । त्यस्तै मृत्यु हुनेको संख्या पनि दैनिक ५ भन्दा कम छैन । तर, सरकारले जोरबिजोर प्रणाली हटाएसँगै फागुन १ गतेबाट विद्यालय, होटल रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ। यस्तो अवस्थामा हतार गरेर विद्यालय वा अन्य भिडभाड हुने क्षेत्र खुल्ला गर्दा फेरि जोखिम हुने त होइन, के भन्छन विज्ञहरु ?

सरकारले फागुन १ गतेदेखि विद्यालय, सिनेमा हल, जिम खाना, डान्सबार, दोहोरी साँझसहित रात्रिकालीन व्यवसाय खोल्न दिने निर्णय गरेको छ । अहिले नै संक्रमणको त्रास कम भएको हो त ? भिडभाड हुने स्थानहरु पुरानै अवस्थामा फर्काउन मिल्ने अवस्था बनेको हो त ? जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो अवस्थामा संक्रमितको संख्या ओरालो लागेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालनको अनुमति दिएको तर्क गरेको छ ।

कोरोना संक्रमणदर ओरालो लागे पनि एक हजारभन्दा कम हुन सकेको छैन । अझैं पनि कोरोनाविरुद्धको खोपको पहुँचमा सबै नागरिक छैनन् । अधिकांश बालबालिकाले खोप पाएकै छैनन् । अहिले १८ वर्षभन्दा कम उमेर समूहका लक्षित बालबालिकालाई कोरोनाविरुद्धको खोप धमाधम दिन थालिएको छ ।

भर्खरै मात्र बालबालिकालाई खोप दिन थालिएकाले अहिले नै विद्यालय खोल्न हतार भएन र ? भन्ने प्रश्न अनुत्तरित नै रहे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारी स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्नेगरी शैक्षिक संस्था भौतिकरुपमै सञ्चालनको अनुमति दिइएको बताउनुुहुन्छ ।

सरकारले विस्तारै सबै क्षेत्र खुल्ला गरिरहँदा अस्पतालमा नयाँ संक्रमितको चाप भने घटेको छैन । पाटन अस्पतालमा दिनहुँ नयाँ भर्ना हुने बिरामीको संख्या बढ्दै गएको छ ।

कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनको तीव्र फैलावटका कारण खोप लगाएका वयस्कसमेत संक्रमित भइरहेका छन् । ओमिक्रोनले मानवीय क्षति कम गरेपनि हेलचेक्र्याइँ गरिहाल्न नमिल्ने चिकित्सकहरुको सुझाव छ ।

कोरोनाका विभिन्न स्वरुपमध्ये ओमिक्रोनबाट जोखिम नभए पनि उपत्यकाका अस्पतालहरुमा नयाँ भर्ना भएर उपचार गराउने बिरामी बढ्दै गएका छन् । यस्तो अवस्थामा सरकारले भिडभाड हुने सबै क्षेत्र धमाधम खुल्ला गरिरहँदा र नागरिकले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना नगर्दा फेरि जोखिम मोल्नुपर्ने अवस्था देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *