Main News

अलविदा लता मंगेशकर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २३ गते २०:४५
अलविदा लता मंगेशकर (भिडियो रिपोर्टसहित)

२३ माघ २०७८ काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । मंगेशकरले मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा सदाका लागि धर्तीबाट विदा लिइन् । उनले नेपाली सांगीतिक क्षेत्रमा पनि राम्रो छाप छाडेकी छन् । नेपाली संगीत पारखीका मनमा बस्न सफल मंगेशकरको जीवन आयाम हेरौं–

स्वर्गीय राजा वीरेन्द्र शाहको शब्दमा स्वर उन्ने भारतीय गायिकाको पार्थिव शरीर अन्ततः करोडौं स्वर पारखीहरुलाई दुःखी बनाएर आफै तारा बनेको छ ।

नाम गुम जाएगा
चेहेरा ये बदल जाएका
मेरी आवाज ही पेहेचान है, अगर याद रहे ।।

यो गीतपछि अब भौतिकरुपमा स्वर किन्नरी लता मंगेशकरका थप गीतहरु रेकर्ड हुने छैनन् । कालजयी स्वरकी धनी लताको २८ सेप्टेम्बर १९२९ मा भारतको मराठी परिवारमा जन्म भएको हो । १६ वर्षे उमेरसँगै स्वर लालित्यको जवानी चढेकी लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएपछि स्वर पारखीहरुको उनका थप गीत सुन्ने धोको अधुरै रहने भएको हो ।

जीवनकालमा ३६ भाषामा पचासौं हजार गीत गाएकी मंगेशकरले नेपाली गीत संगीतको क्षेत्रमा समेत थुप्रै गीत गाएकी मात्र छैनन्, नेपाली श्रोता दर्शकको मनमा पनि उनको स्थान विशेष बनाएकी छन् । सन् १९४७ मा आएको फिल्म आपकी सेवामे मा मौका पाएपछि उनले संगीतको क्षेत्रमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।

१३ वर्षकै उमेरमा पिता गुमाएकी उनले ५ वर्षको उमेरबाट संगीत सिक्न थालिन् । पिताको देहान्तपछि भने घरको जेठो सन्तान भएका कारण पनि परिवारको जिम्मेवारी उनको काँधमा आयो र उनी जीवनभर अविवाहित रहिन् ।

पढ्ने चाहनालाई थाति राखेर उनले परिवारको जिम्मेवारी पूरा गर्दै नाटक तथा फिल्म अभियनमा लागिन् । विद्यालयको शिक्षा पाउन नसके पनि मंगेशकरले जब आफ्नो जीवनको उचाईमा पुगिन् तब न्युयोर्क युनिभर्सिटी सहित अन्य ६ विश्वविद्यालयले मानार्थ उपाधिले परस्कृत गरे ।

उनको जीवनकालमा भारतका एक से एक संगीतकारसँग काम गरिन् । लताका विषयमा सांगीतिक बजारमा निक्कै रमाइला किस्सा पनि छन् । जुन उनको भौतिक शरीर बिदा भएपछि पनि धेरैको मनमष्तिस्कमा सुन्दर सम्झना बनेर अड्किरहनेछन् ।

रेकर्डिङ स्टुडियोमा उनी सधै चप्पल खोलेर जाने गर्थिन् , सन् १९७४ मा दुनियाँमा सबैभन्दा धेरै गीत गाउने गायिकाको रुपमा उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भइन् । भारतका क्रिकेट सुपर स्टार सचिन तेन्दुलकर लतालाई आफनो आमा मान्छन् ।
लताले म्युजिक डाइरेक्टरको रुपमा पनि काम गरेकी छन् ।

यसैगरी उनी फोटोग्राफीको पनि शौखिन थिइन् । उनले विवाह पनि गरिनन् । सन् १९६७ मा उनलाई भारतीय संगीत क्षेत्रमा उच्च योगदान दिएकोमा पद्म भूषण अवार्ड दिइयो ।

१९७९ मा दादा साहेब फाल्के अवार्ड, महाराष्ट्र भूषण अवार्डसहित उनले दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरिन् । उनले अधिक पुरस्कार र सम्मान पाउनेमा पनि रेकर्ड नै राखिन् । एक समयपछि त उनले नयाँ आर्टिस्टलाई मौका दिने भन्दै फिल्म फेयर अवार्ड नलिने घोषणा नै गरिन् ।

उनको निधनमा भारत सरकारले दुई दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । नेपाली स्रोताका लागि पनि लता सदा अमर बनेर स्वरमा गुन्जिरहनेछिन् । अल विदा लता दी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *