Main News

बालुवाटारमा प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्रीद्वय ओली र प्रचण्डबीच बैठक सुरु

हिमालय टिभी
२०७८ माघ २३ गते १६:५६
बालुवाटारमा प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्रीद्वय ओली र प्रचण्डबीच बैठक सुरु

२३ माघ २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड केहीबेर अघि बालुवाटार पुग्नुभएको हो ।

निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक बालुवाटार प्रवेश गर्नुभएको हो । उहाँहरुबीचमा पछिल्लो समसामयिक राजीतिका साथै मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसि) बारेमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

यसैबीच प्रधानमन्त्रीबाट बाहिरिएको सात महिनापछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफलका लागि आमन्त्रण गरेपछि पूर्वप्रधानमन्त्री ओली आज अपराह्न बालुवाटार पुग्नुभएको हो ।

गत असार २९ गते नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बन्नुभएको थियो । सोही दिन नै ओलीले बालुवाटार छाड्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल सुरु भएको छ । सो छलफलका लागि ओली बालुवाटार पुग्नुभएको हो ।

उहाँहरुबीच अमेरिकी सहयोग परियोजना (एमसिसि), स्थानीय निर्वाचन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम रहेको बालुवाटारले जनाएको छ । यसअघि गत पुस २४ गते प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुग्नुभएको थियो । उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री देउवा बालकोट पुगेको करिब एक महिनापछि एमाले अध्यक्ष ओली बालुवाटारमा छलफल गर्न तयार हुनुभएको हो । एमालेको अवरोधका कारण सङ्घीय संसद्को बैठक लामो समयदेखि नियमित कार्यसूचीमा नै प्रवेश गर्न पाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *