राजनीति

राजनीतिमा मूलधार गतिविधि अपराधिक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २१ गते २०:४३
राजनीतिमा मूलधार गतिविधि अपराधिक (भिडियो रिपोर्टसहित)

२१ माघ २०७८ काठमाडौं । केही वर्षयता मुलधारको राजनीतिमा प्रवेश गरेका सिके राउतको जनमत पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले पछिल्लो समय अराजक गतिवधि बढाउँदै लगेका छन् ।

सरकार र मुलधारका राजनीतिक दलबाट अपेक्षित काम नभइरहेको महसुस गरेका नागरिकको मन जित्न उनीहरुले गरेका अपराधिक गतिविधिले मुलुकलाई थप द्वन्द्वतिर धकेल्ने प्रयास भइरहेको छ ।

मधेशमा पृथकतावादी गतिविधि गरिरहेका सिके राउतलाई तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम गरी मूलधारको राजनीतिमा भित्र्याउनु भयो ।

प्रधानमन्त्री ओलीको कार्यकालमा भएको यो कार्यक्रमलाई तत्कालीन नेकपाले कोशेढुंगाका रुपमा प्रचार गर्यो । अब पृृथकतावादी वा कुनै पनि अपराधिक गतिविधिहरु नहुने ठोकुवा गर्दै सिके राउतसँग एउटै मञ्चमा सम्बोधन गरेका ओलीको जयजयकार भयो । सिके राउतलाई मूलधारमा ल्याउन सफल भएको आत्मप्रशंसासहित ओलीले सिकेमा असाधारण क्षमता रहेको भन्दै प्रशंसा गर्न भ्याउनुभयो ।

सीके राउतलाई मूलधारमा ल्याएको भनिएको दुई वर्षपछि गत वर्ष फागुन २१ गते ओलीले राष्ट्रियसभा गृहबाटै नेत्रविक्रम चन्द विप्लवलाई पनि मूलधारको राजनीतिमा ल्याएको घोषणा गर्नुभयो । विप्लवसँग गरिएको तीन बुँदे अमुर्त सम्झौतापछि त्यसअघि प्रतिबन्धमा रहेको समूहका कतिपय नेताहरुलाई सरकारले थुनामुक्त पनि गर्यो ।

अदालती प्रक्रियामा गएका कतिपय मुद्दा बाहेकका नेता कार्यकर्ताहरु रिहा भए । हत्या हिंसाको राजनीति गरिरहेको, विभिन्न ठाउँमा बम विस्फोट गरी सर्वसाधारणको ज्यान लिइरहेको यो समूहसँग गरिएको सहमतिमा शान्तिपूर्ण राजनीतिमा आउने बाहेक थप केही कुरा पनि उल्लेख गरिएन । संसद विघटन र त्यसपछि आफूविरुद्ध पार्टीमा भइरहेको चर्को विरोधलाई ढाकछोप गर्ने प्रयास स्वरुप गरेको विप्लवसँगको यो सहमतिले ओलीलाई क्षणिक आत्मरति बाहेक खास उपलब्धिहरु देखिएनन् ।

पृथकतावादी धारबाट मुलधारमा आएको भनिएको सिके राउत समूहले अहिले वैध बाटोबाटै किसान आन्दोलनका रुपमा मधेशमा अराजकता देखाइरहेको छ । जनमत पार्टी गठन गरेको यो समूहले कर्मचारीलाई मोसो दल्नेदेखि सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गर्यो । उखु किसानहरुको मुद्दा सम्बोधनमा पीडितहरुलाई सहयोग गर्ने नाममा चक्काजाम, बन्द हड्ताल र आगजानीको क्रम झण्डै एक महिनादेखि जारी राखेको छ । उखु किसानका समस्यामा सँधै मुकदर्शक बन्ने गरेको शासक बर्गले नै सिकेलाई अराजक आन्दोलनका लागि तेल थप्ने काम गरिरहेको जस्तो देखिन्छ ।

ओली नेतृत्वकै सरकारका पालामा काठमाडौंमा हप्तौँ आन्दोलन गरेका किसानहरु अझै पीडामा छन्, आफ्नो बालीको उचित मूल्य पाउन सकेका छैनन् । वर्षौँदेखि बक्यौता थुपारेका उखुमिलहरु शक्तिशाली विचौलियाको रुपमा नेता र विभिन्न दलकै साझेदार छन् ।

यही तितो यथार्थका कारण पनि किसान आन्दोलनका नाममा अराजकता फैलाइरहेको सिके राउतका गतिविधिमा प्रशासन मौन जस्तै देखिन्छ । तर सिके समूहले किसानका नाममा मधेशमा राजनीतिक स्पेस बनाउने प्रयास जारी राखेको छ । अर्कोतर्फ मधेशबाट उठेका राजनीतिक दलहरुप्रतिको आम निराशालाई क्यास गरी यो समूहले थप राजनीतिक रोटी सेक्ने प्रयास गरेको छ ।

दलहरुका कार्यक्रम भाँड्ने र मन्त्रीलाई नै ओहोरदोहोर गर्न नदिने गतिवधिले थप द्वन्द्व सिर्जना गर्न लागेको जस्तो देखिएको छ ।
आफूलाई माओवादी र माओवाद विचारबाटै अलग राख्ने प्रयास गरेको विप्लव समूहमा पनि अरु कुनै राजनीतिक एजेण्डा देखिँदैनन् । जनवादी क्रान्तिको अमूर्त नारा एकातिर, सरकारी कर्मचारी, शिक्षक तथा सामाजिक अगुवाहरुमाथि मोसो दल्ने र आम रुपमा डर पैदा गर्ने कार्य अर्कोतिर विप्लव समूहले चलाइरहेको छ ।

सरकार स्थानीय तह निर्वाचन घोषणाको संघारमा रहेका बेला सिके राउत वा विप्लव समूह निर्वाचनको तयारीका लागि यस्तो गतिविधि गरिरहेका छन् वा अराजकताबाटै ठाउँ तयार गर्ने र चन्दा असुली जारी राख्ने काम गरिरहेका छन् ? सरोकारवालाहरुले यो विषयमा चासो देखाएका छैनन् । यी दुई समूहलाई मुलधारमा ल्याएको जस लिइरहेका एमाले अध्यक्ष ओली पनि उनीहरुको गतिविधिमा मौन देखिनुहुन्छ ।

एमसीसीको कुहिरोमा रुमल्लिएको सरकार र मौनता साँधिरहेको प्रमुख प्रतिपक्षी दलका कारण यी गतिविधिको गति झनै बढ्दै जाने देखिन्छ । जनजिविकिासँग जोडिएका आम मुद्दाहरुमा आफूलाई उभ्याएको जस्तो देखाउने तर सार्वजनिक सेवामा रहेका व्यक्तिहरुमाथि त्रास फैलाउने, सार्वजनिक सम्पत्तिमाथिको विध्वंश मच्चाउने जस्ता कामहरुलाई नजरअन्दाज गर्ने हो भने मुलुक यस्ता गतिविधिहरुको अखाडा बन्ने खतरा छ ।

आफूलाई अभियान्ता बताउनेहरु त सार्वजनिक सेवाका व्यक्तिहरुमाथि लाठी लगाउन उद्यत भइरहेका बेला संगठित रुपमै भइरहेका गतिविधिले मुलुकलाई व्यथितिको खाडलतिर नलैजालान भन्न सकिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्