राजनीति

सत्ता साझेदार नै बाधक बन्दा यस्तो द्विविधामा देउवा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २१ गते २०:२९
सत्ता साझेदार नै बाधक बन्दा यस्तो द्विविधामा देउवा (भिडियो रिपोर्टसहित)

२१ माघ २०७८ काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालको राजनीति तरंगित बनाइदिएको छ ।सत्तागठबन्धनभित्र बेमेल मात्र होइन, प्रमुख प्रतिपक्षी एमालेको दाउपेच पनि शुरु भएको छ ।

आफ्नै सत्ताघटकका कारण प्रधानमन्त्री शेरबहादुर देउवा समस्यामा पर्नुभएको छ । एमसीसी अघि बढाउने आफ्नो चाहनामा सत्तासाझेदार दल नै बाधक बनिदिँदा देउवाका लागि टाउको दुखाईको विषय बनेको छ ।

प्रधानमन्त्री देउवालाई सरकारमा पु–याउन निर्णायक भूमिका खेलेका दलहरु नै अहिले देउवाका लागि मुख्य चुनौती बनेका छन् । ५औं पटक सत्ताको बागडोर सम्हालेका देउवाका लागि एमसीसीमा सत्तारुढ दलभित्रै सहमति जुटाउन फलामको च्यूरा चपाउनु सरह बनिरहेको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीको चित्त नबुझाई एमसीसी अघि बढाए सत्तागठबन्धन टुट्ने पक्का छ । एमसीसीमा देउवाले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको गनगन पन्छाउने हो भने एमालेको साथ खोज्नैपर्ने अवस्था आउनेछ । उसो त एमालेले शर्त सारेर फाइदाको राजनीतिक शुरु गरिसकेको छ ।

सत्तारुढ दलभित्र सहमति नजुटे एमालेको साथ लिनुपर्ने सम्भावित परिदृश्यलाई बुझेरै होला देउवाका दूतका रुपमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित केही नेताहरु निरन्तर एमाले अध्यक्ष केपी ओलीसँग संवादमै हुनुहुन्छ । यसअघि सरकारमा रहँदा ओलीले एमसीसी अघि बढाउन निक्कै कसरत गर्नुभएको थियो । सत्तागठबन्धन टुट्ने र सभामुख हटाउन तयार हुने हो भने देउवाले एमालेको साथ पाउने अवस्था बन्न सक्छ ।

प्रचण्ड र नेपाल एमसीसीमा केही संशोधन चाहिरहेका छन् । तर, एमसीसीमा उठाइएका प्रश्नबारे जवाफ दिँदै अमेरिकाले संशोधन नहुने बताइसकेको छ । यस्तो अवस्थामा देउवाले एमसीसी अघि बढाए सत्ताबाट बाहिरिनुपर्ने त्रास भने एकीकृत समाजवादी र माओवादीमा पनि देखिन्छ । उसो त कांग्रेसले पहिलो प्राथमिकतामा सत्तागठबन्धनभित्रै सहमतिको प्रयासलाई प्राथमिकतामा राख्ने बताएको छ ।

देउवालाई अब लामो समय द्विविधामा रहेर एमसीसीबारे निर्णय नगर्ने छुट देखिँदैन । यस्तो अवस्थामा सत्ता गठबन्धनमा सहमति जुटाउन वा त्यसो नभए गठबन्धन टुटाएर भएपनि अघि बढ्नुको अर्को विकल्प देउवासँग देखिँदैन । एमसीसीको विषय किनारा लाग्दा देउवाको सत्तायात्रा सहज हुने हो वा थप जटिल बन्ला ? त्यो भने भविष्यले नै देखाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्