Main News

रनवेमा कसरी भयो दिपेशको प्रवेश ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २१ गते २०:२४
रनवेमा कसरी भयो दिपेशको प्रवेश ? (भिडियो रिपोर्टसहित)

२१ माघ २०७८ काठमाडौं । के तपाईले आफन्तलाई लिन त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमै प्रवेश पाउनुभएको छ ? पक्कै पनि पाउनुभएको छैन होला । तर, दिपेश पुन सहजै विमानको ढोकैमा पुग्नुभएको छ ।

माओवादी कार्यकर्ताबाहेक उपराष्ट्रपति नन्दबहादुर पुनको छोराका रुपमा मात्र दिपेशको परिचय हो । तर, उहाँले माओवादी नेता वर्षमान पुनलाई विमानको ढोकैमा पुगेर स्वागत गरेको तस्वीर सार्वजनिक गरेको ११ दिन बितिसक्यो । उहाँले कसरी प्रवेश पाउनुभयो ? विमानस्थलले नै पत्तो पाएन, न त अहिलेसम्म कुनै कारवाही नै गर्न सकेको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन माओवादी केन्द्रका नेता वर्षमान पुनलाई स्वागत गर्दै हुनुहुन्छ । त्यो पनि विमानको ढोकै अगाडि । कुनै समय कुख्यात अपराधि चाल्र्स शोभराजले नेपालको विमानबाट हात्ति छिराउँदा पनि कसैलाई पत्तो हुँदैन भनेर दाबी गरेको यो तस्वीरले पुष्टि गरेको छ । यहाँ दिपेश पुगेको त्रिभूवन विमानस्थाललाई पत्तो नै छैन ।

गत माघ १० गते सोमबार माओवादी केन्द्रका नेता पुन चीनबाट उपचार गरेर काठमाडौं आउने कार्यक्रम थियो । विमान चार्टर्ड गरेर आउने हल्ला भएपनि पुन हिमालय एयरको कार्गो विमानबाट काठमाडौ आउनुभयो ।

उहाँ आउने खबरले नारायणकाजी श्रेष्ठ र माओवादी नेताहरु पुनलाई दिन विमानस्थाल पुग्नुभयो । जब उपराष्ट्रपति नन्दबहादुर पुनको छोरा दिपेशले विमानभित्रै पुगेर स्वागत गरेको तस्विर आफ्नो सामाजिक सञ्जालमा राख्नुभयो, त्यसपछि प्रश्न उठ्न थाल्यो । आम नागरिक प्रवेश गर्नै नपाउने विमानस्थलको रनवेमा दिपेशको प्रवेश कसरी भयो ? हामीले त्रिभूवन विमानस्थललाई प्रश्न गर्यौं । विमानस्थलले कमजोरी स्वीकार त गर्यो तर, प्रष्ट जवाफ दिन सकेन ।

पुन यसरी विमानकोद्वारसम्म पुगेर स्वागत गरेको पनि ११ दिन भयो । तर विमानस्थलले भने न यसलाई छानबिन गर्यो न त कारवाही प्रक्रिया नै अघि बढायो । यसले के देखाउँछ भने नेपालको कानुन सोझासाझा आम जनतालाई मात्र लाग्छ । ठूलालाई त कुनै कानूनै लाग्दैन । राजतन्त्रमा जसरी राजपरिवार भित्रका सदस्यले जे गरेपनि हुन्थ्यो गणतन्त्रमा पनि सत्तामा बसेका व्यक्तिका छोराछोरीले पनि जेसुकै गर्न पाउने छुट दिएको सन्देश गएको छ ।

हामीले एक सातासम्म विमानस्थलको सुरक्षामा यो कसरी सम्भव भयो भनेर बारम्बार प्रश्न उठायौ । तर यसबारे कोही पनि बोल्न तयार छैनन । कर्मचारीहरु समेत सत्ताको पुजारी बन्दा कानूनमै नभएको काम जबरजस्ति हुदै गएको छ । त्यसैले भन्ने गरिन्छ राजतन्त्र फालेर गणतन्त्रमा पनि नयाँ नयाँ राजा, राजकुमारहरु जन्मिएका छन ।

दिपेश पुनले जसरी विमान भित्र नै पुगेर स्वागत गर्न पाइने भए देशमा रेमिटान्स भित्राउने बिदेश गएका लाखौ नेपालीलाई समेत स्वागत गर्न पुनलाई जसरी छुट किन नदिने रु यहाँ श्रम गर्नेलाई भित्र जान सुरु गर्दा देखि विमानमा जाँदा समेत घण्टौ लगाएर जाँच गरिन्छ । पुन उपराष्ट्रपतिका पुत्र भएकै कारण विमानस्थल भित्र जान नरोकिएको हो भने गणतन्त्रमा पनि राजकुमारहरुको कमी नरहेको सन्देश गएको छ । सर्वहाराको नेतृत्व गरेको दाबी गर्ने माओवादी केन्द्र समेत किन मौन ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *