Main News

मेलम्ची खानेपानी आयोजनामा गेग्य्रान हटाउन सुरु

हिमालय टिभी
२०७८ माघ १८ गते १५:२५
मेलम्ची खानेपानी आयोजनामा गेग्य्रान हटाउन सुरु

१८ माघ २०७८ काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनामा रहेका गेग्य्रान हटाएर पुरिएका संरचना निकाल्न थालिएको छ ।

आयोजनामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो प्रालिले गएको वर्षामा पुरिएका संरचना खुलाउन लागेको हो । वर्षामा बाढी र पहिराका कारण पुरिएर रहेका संरचना खुलाएर मर्मत गरेर पुनः काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन तयारीको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

गत शुक्रबारदेखि कम्पनीले दुई चरणमा काम भइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । केही दिनमा नै तीन सिफ्टमा हुने र सकेसम्म चाँडो सक्ने गरी तीन ठाउँमा काम गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तीनतीनवटा डोजर राखेर काम भइरहेको जानकारी आएको छ ।”

संरचनामा रहेको लेदो सफा गरेर पहिले अम्बाथान अडिट खोलिने सूचना अधिकारी पन्तले बताउनुभयो । त्यो खोल्नासाथ सुरुङको ‘डिवाटरिङ’ गर्न सकिन्छ । सुरुङ खाली भएपछि त्यसको निरीक्षण गर्ने र भित्र केही साधरण सुधार गर्नुपर्ने भए गर्न सकिने उहाँले बताउनुभयो । त्यसपछि हेडवर्क र डाइभर्सन टनेल सफा गर्न सकिन्छ । उहाँले भन्नुभयो, “यी कामसँगसँगै गर्नुपर्ने भएकाले तीन ठाउँबाट काम गर्नुपर्छ ।”

अम्बाथान अडिटको लम्बाइ २९८ मिटर रहेको छ । मेलम्ची खोलाको भित्रतिर रहेको छ भने खोलाको धेरै गिट्टी–बालुवाभित्र नपसेको होला भन्ने आयोजनाको अनुमान छ । अडिटभित्र झन्डै पाँच हजार ४०० घनमिटर लेदो थुप्रिएको हुनसक्ने अनुमान गरिएको छ । उहाँका अनुसार त्यो परिमाण लेदो खाँदिएको अवस्थामा हुनसक्छ भने खाँदिएको नभएमा त्यो परिमाण कम हुनसक्ने अनुमान छ ।

मुख्य सुरुङमा भने भित्र लेदो नपसेकाले सञ्चालनमा समस्या नभएको आयोजनाले जनाएको छ । यसको मर्मत र सुधारका लागि धेरै समय नलाग्ने अनुमान छ । सुरुङको मुख खोल्नासाथ केही दिनमा नै सफा गरिहाल्न सकिने उहाँले बताउनुभयो । मुख्य सुरुङलाई अडिट सुरुङले जोड्ने गर्छ । अहिले अडिट सुरुङ नै सुरुमा नै पूरै नभरिएको हुनसक्ने अनुमान गरिएको छ । सो सुरुङभित्र गएको छ÷छैन भनेर मुख खोलेर हेरेर नै थाहा हुने उहाँले बताउनुभयो ।

बाढीपहिराले थुपारेको लेदोका कारण सबैभन्दा बढी ‘हेडवर्क’ पुरिएको हुनसक्ने र संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ । यहाँ झन्डै तीनचार लाख घनमिटर लेदो रहेको, त्यो हटाउनु नै सबैभन्दा महत्वपूर्ण काम भएको सूचना अधिकारी पन्तले बताउनुभयो । अहिले त्यो पूरै हटाउनेभन्दा पनि पानीसम्म जानसक्ने बनाउन लागिएको छ ।

अहिले नदी बगिरहेकाले त्यसैलाई सहयोग हुने गरी दायाँबायाँबाट गिट्टी बालुवा झिकेर हटाइने सूचना अधिकारी पन्तले बताउनुभयो । अहिले हेडवर्कमा रहेका सबै लेदो हटाउनेभन्दा पनि पानीसम्म बगाउने गरी सफा गरिनेछ । हेडवर्कको गेट नं ९, गेट नं १ र अम्बाथान अडिट नजिकै गरी तीन ठाउँमा अहिले काम गनुपर्नेछ । नौ नं गेट र एक नं गेटमा समस्या भए पनि अस्थायी रुपमा चलाउन सकिन्छ भन्नेछ ।

चैतसम्ममा पानी चलाउन सकिएमा जेठसम्म चल्यो भने सुरुङमा केही भएको छैन भन्ने बुझिने सूचना अधिकारी पन्तले बताउनुभयो । ‘हेडवर्क’ मा क्षति कम भएमा मर्मत हुनेछ भने धेरै क्षति भएको पाइएमा पुनः डिजाइन गरेर नयाँ ठाउँमा बन्नसक्छ ।

मुख्य सुरुङमा पहिले पानी भर्दा २६० लिटर प्रतिसेकेन्डका दरले भरिएको थियो र अहिले पनि त्यही प्रक्रिया अपनाइने आयोजनाले जनाएको छ । अहिले पनि सुन्दरीजल, सिन्धु र ग्यालथुमबाट पानी निकालिरहेको छ । अम्बाथान र ग्यालथुम बीचको खण्डमा पानी भरिएको र त्यो खण्डमा अम्बाथान अडिट टालिएकाले निकाल्न नसकिएको सूचना अधिकारी पन्तले बताउनुभयो ।

त्यो खण्डमा पानी रहेको छ भने अम्बाथान अडिट दुई हप्ताभित्र खोल्न सकेमा पानीबाहिर निकाल्न सकिन्छ । त्यसपछि सुरुङ निरीक्षण गरिने उहाँले बताउनुभयो । माघभरमा सुरुङ खोल्न सकेमा फागुनमा निरीक्षण हुने उहाँले बताउनुभयो । तीन खण्डमा निरीक्षण गर्दा एक हप्तामा सकिने गरी योजना बनाइएको छ । उहाँले भन्नुभयो, “निरीक्षणका लागि तीन टोली खटाउन सकिन्छ ।”

फागुन पहिलो साता निरीक्षण सकियो र सुरुङभित्र कुनै समस्या छैन भन्ने भएमा फागुन अन्तिमसम्ममा पानी ल्याउन अरू काम गर्न सकिने सूचना अधिकारी पन्तले बताउनुभयो । अब गर्नुपर्ने काममा ‘कफर ड्याम’ बनाउने, हेडवर्क गेट नं ९ खोल्नेलगायतका छन् । उहाँका अनुसार चैतको एकदुई साता काम गर्नुपरे पनि अन्तिमसम्ममा ल्याउन सकिन्छ ।

काठमाडौँ उपत्यकावासीको धारामा चैतभित्रमा आउनसक्ने गरी योजना बनाइएको आयोजनाले बताउँदै आएको छ । अहिले गर्नुपर्ने तीन ठाउँमा सफा गर्न कति समय लाग्छ पानी पथान्तरण गर्ने कुरा त्यसमा निर्भर रहन्छ । उहाँका अनुसार ती संरचनामा कति क्षति पुगेको छ भनी खोलेर हेरेपछि मात्रै थाहा हुन्छ । उहाँले भन्नुभयो, “कम्पनीले काम सुरु गरिसकेकाले अबको दुईतीन दिनमा भित्रको अवस्था के छ भनी थाहा हुन्छ ।”

अस्थायी किन ?
अहिले तत्काल स्थायी रुपमा ल्याउनका लागि हेडवर्क पूरा नभएकाले अस्थायी बाँधबाट नै पानी पथान्तरण हुने आयोजनाले जनाएको छ । गत वर्ष वैशाख जेठमा पानी चलाउँदा पनि अस्थायी बाँधबाट नै पठाइएको थियो । निर्माणाधीन ‘हेडवर्क’ को संरचना अहिले पूरै पुरिएको छ र यो क्षतिग्रस्त हुनसक्ने अनुमान छ । पानी पठाउने काम स्थायी वा अस्थायी रुपमा गर्ने भनी निर्णय गर्नका लागि अध्ययनको प्रतिवेदन आउनुपर्छ । अध्ययनका क्रममा कम क्षति पाइएकामा र मर्मत मात्रै गरेर चलाउन सक्ने भएमा स्थायी रुपमा नै गर्न सकिने हुनसक्छ । तर संरचना सुरक्षित छैन र अर्काे बनाउनुपर्छ भने त्यसका लागि यही ठेक्का वा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउनुपर्ने हुनसक्ने सूचना अधिकारी पन्तले बताउनुभयो । त्यसका लागि अर्काे एकदुई वर्ष पनि लाग्नसक्छ । अहिले अस्थायी रुपमा पुनःनिर्माण गरेर चलाउन सकिन्छ ।

गत वर्ष जस्तै दोहोरिन नदिन
गत आवमा जस्तै विपत्ति दोहोरिने सम्भावना भए पनि आयोजना स्थलभन्दा माथिल्लो भागमा संरक्षणको काम सुरु भएको छैन । गत असार १ गते माथिबाट बाढी आउनसक्ने अनुमान नभएकाले सुरक्षाको काम हुन नसकेको र अहिले अगाडिदेखि सुरक्षाका काम गर्न सकिने उहाँले बताउनुभयो ।

अहिलेदेखि नै त्यहाँको सुरक्षाका लागि काम गर्न सकिनेछ । अम्बाथान अडिट नपुरियोस् भनेर माथिबाट संरचना बनाउन सकिन्छ भने एक नं माथि अस्थायी संरचना बनाएमा त्यो पुरिन पाउँदैन । सरकारले वा दातृ निकायबाट त्यहाँको अध्ययन भए पनि अहिलेसम्म समाधानको काम हुन सकेको छैन । अध्ययन प्रतिवेदन आएपछि मेलम्ची वा सम्बन्धित निकायले नै सुरक्षाको काम गर्नसक्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *