सहिद घोषणामा पनि पार्टीको कोटा, को हुन् वास्तविक सहिद ?
१६ माघ २०७८ काठमाडौं । सहिद शब्दले नेपाली मानसपटलमा चार जनाको चित्र घुम्छ । शुक्रराज, धर्मभक्त, दशरथ चन्द र पुष्पलालप्रतिको आस्था आज पनि उस्तै छ । त्यसो भनिरहँदा प्रजातन्त्र पुनःस्थापनादेखि गणतन्त्रका लागि जीवन आहुति दिनेहरु पनि सहिदको परिभाषाभित्र नपर्ने होइन, तर भावनात्मक उत्तेजनामा बन्दुक अघि छाती थाप्ने सबै सहिद हुन् त ? त्यसले वास्तविक सहिदको अवमूल्यन गरेको छ ।
२०६२–६३ सालको जनआन्दोलनअघिसम्म विद्यालय जीवन बिताएका वा त्यो ताकाका आम नागरिकलाई सहिद भन्ने शब्द सुन्नासाथ मानसपटलमा खेल्ने चारवटा नाम हुन् शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ । अहिलेसम्म पनि सहिद दिवसकै रुपमा औपचारिक कार्यक्रममा सीमित बन्ने गरेको माघ १६ गतेको दिन, त्यो समयमा पर्वका रुपमा थियो ।
सरकारले दिने सार्वजनिक बिदा र त्यो बिदालाई विद्यालय, क्याम्पस तथा विश्वविद्यालयदेखि विभिन्न सरकारी संस्थाहरुले सिर्जनात्मक क्रियाकलापहरु सञ्चालन गर्ने दिनका रूपमा रहन्थ्यो। त्यो समयको सहिद दिवस अहिलेको जस्तो सरकारको परिपत्रको आधारमा काठमाडौं महानगरले सात दिनसम्म बिरालो बाँध्ने प्रक्रियाभन्दा निकै भिन्न । आफैले आन्दोलन गरेर राणा शासन अन्त्य गरेकादेखि प्रजातन्त्र स्थापनाको त्यो आन्दोलनबारे सुनेका र पढेका सबैलाई नोस्टाल्जिक बनाउने पर्व थियो, सहिद दिवस ।
देशमा पटकपटक ठूला आन्दोलनहरु भए, व्यवस्था परिवर्तन भए, पछिल्लो जनआन्दोलनले मुलुकमा गणतन्त्र स्थापना गर्यो, देशमा बस्ने सबैका अधिकार स्थापित भए, मौलिक हक, अधिकारहरु थपिए । सीमान्तकृत र पिछडिएको क्षेत्रले अग्राधिकार पाउने गरी संविधानमै व्यवस्था गरियो । तर यो परिवर्तनपछि सहिदहरुप्रतिको सम्मान भने घट्दै गयो ।
व्यवस्था परिवर्तनका हरेकजसो आन्दोलनमा साहदत प्राप्त गरेका व्यक्तिहरु सहिदका रुपमा थपिँदै जाँदा उनीहरुको त्यागको उक्तिकै सम्मान भइरहनु पर्ने हो, तर त्यस्तो भएन । सहिदको खेती पो हुन थाल्यो । सुन्दर मुलुक निर्माणका लागि ज्यानको आहुति दिने र त्यसका लागि गलत शासकहरुसँग नझुक्ने, देशको अस्मिता रक्षाका लागि बलिदानी दिने र संस्कृति जोगाउन रगत बगाउनेहरु जो सहिदका रुपमा १० लाख रुपैयाँको विनिमयमा सीमित भए । तर इन्काउन्टरमा मारिएका गुण्डा नाइकेदेखि कालगतिले मृत्युवरण गरेकासम्मलाई सहिदका सूचीमा थप्ने, थप्न चाहने र थप्न लगाउने प्रवृत्तिले वास्तविक सहिदहरुप्रतिको सम्मान घट्दै गयो ।
राजनीतिक दलहरुको तल्लोस्तरको प्रतिस्पर्धाले झण्डैझण्डै सहिदमासमेत कोटा प्रणाली शुरु भएको छ । तत्कालीन नेकपा माओवादीले शुरु गरेको सशस्त्र युद्धका क्रममा सरकारी सुरक्षाकर्मीको कारबाहीमा मारिएका झण्डै साढे ६ हजार लडाकूलाई सहिद घोषणा गरियो । त्यसको केही वर्षमा माओवादीतर्फबाट मारिएका सरकारी सुरक्षाकर्मी पनि सहिदको सूचीमा सूचीकृत भए । सहिदको संख्या हजारौँको दरले बढ्दै गयो ।
कुनै पनि दलको सदस्यता बोकेको व्यक्ति दुर्घटनामा परेर मृत्यु हुँदासमेत सहिद बनाउने र परिवारलाई १० लाख सुम्पिने प्रवृत्तिले सहिदको संख्या अनगिन्ति भइसकेको छ । कार्यकारिणी अधिकार पाएकाहरुले कतिबेला कस्को दबाब र प्रभावमा सहिदको संख्या बढाउँदै जान्छन् भन्ने कुरा दिवस मनाउनेहरुलाई थाहा छैन ।
आफ्नो देश, संस्कृति र अस्तित्व संरक्षण एवम् स्वतन्त्रता प्राप्तिका लागि हुने आन्दोलनमा बलिदानी दिने व्यक्तिलाई सहिद भनिने परिभाषाविपरीत दलीय स्वार्थको आडमा हुने स–साना विरोध प्रदर्शनहरुमा प्रहरीको गोली लागेर ज्यान गुमाएकाहरु सहिदमा समेटिए । यीमध्ये कतिलाई कुन स्वार्थका कारण ज्यान आहुति दिँदैछु भन्नेसमेत थाहा छैन ।
त्यसैले योगदानको परिभाषाभित्र नपरेर अज्ञातमै ज्यान गुमाएकाहरुलाई उबेला अज्ञात सहिदका रुपमा एकमुष्ठ स्मरण गरिन्थ्यो । तर राजनीतिक र व्यक्तिगत स्वार्थमै परेर वा भावनात्मक उत्तेजनामा बन्दुकको अगाडि छाती थापेका सबैलाई सहिदको सूचीमा राख्न थालिएपछि वास्तविक सहिदको परिभाषा खोजी हुन थालेको छ ।
प्रजातन्त्र, बहुदल वा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि भएका यी कयौँ आन्दोलनलाई बिर्सेर ४ जनालाई मात्र सहिद मानिरहने कुरा पाच्य हुँदैन । तर यसो भन्दैमा हरेक टोलटोलमा हुने प्रदर्शन र मुठभेडमा परी ज्यान गुमाउने सबैलाई सहिद भन्ने हो भने माघ १६ गतेको दिनलाई सहिद दिवस मानिरहनुको अर्थ पनि कहाँ रहला र ? सहिद भन्ने शब्दरुपी सम्मान र १० लाख रुपयाँले मानिसको मृत्युको क्षतिपूर्ति गर्दैन ।
कीर्ति राखेर वा कुकीर्ते गरेर जसरी पनि मानिसको ज्यान जानुले उसको परिवारमात्र होइन समाज र देशलाई नै क्षति पुग्छ । कुनै पनि पृष्ठभूमिको व्यक्ति मारिए पनि उसको आश्रित परिवारलाई राज्यले संरक्षण गर्नुपर्छ, राज्य अभिभावक हो । यसो भन्दैमा वास्तविक सहिदहरुलाई बोलीचालीको भाषाको सहिद बनाउने गरी जोकसैलाई सहिद घोषणा गर्नु वास्तविक सहिद, उनीहरुको ज्यानको आहुती र बलिदानीमाथि मजाक होइन र ?
प्रतिक्रिया