पाँच दलीय सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, अर्को बैठक आजै

१५ माघ २०७८ काठमाडौं । निर्वाचनबारे छलफल गर्न बोलाइएको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज बिहान बसेको बैठकमा स्थानीय तह निर्वाचनको मितिमा गठबन्धन दलहरु सहमत हुन सकेनन् । अपरान्ह चार बजे कानूनविद्हरुसँग छलफल गरेर टुंगोमा पुग्ने नेताहरुले बताएका छन् ।
आज बिहान बसेको बैठकमा भने राष्ट्रपति विद्यादेवी भण्डारीले पत्र नै पठाएर निर्वाचन घोषणा गर्न सरकारलाई दबाब दिएको प्रसंगमा छलफल भएको बुझिएको छ । छलफलमा नेताहरुले राष्ट्रपतिले क्षेत्राधिकार मिचेको आरोप लगाएका थिए ।
त्यस्तै आज बिहान प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सहमतिका लागि बालुवाटारमा अलग्गै छलफल पनि भएको थियो ।
निर्वाचन कानून नै संशोधन गरेर बैशाखको निर्वाचन सार्ने रणनीतिमा रहेको गठबन्धनको सर्वत्र आलोचना भइरहेका बेला बैठक बसेको हो ।
यसैबीच बैठकमा पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न उठ्न सक्ने चेतावनी दिनुभएको थियो ।
उहाँले संसद नचलेको, सर्वोच्च अदालतमा गतिरोध कायमै रहेको बेला व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयास भैरहेको भन्दै पौडेलले गम्भीर बन्न नेताहरुलाई सुझाव दिनुभएको बताइएको छ ।
प्रतिक्रिया