Main News

झण्डै ६७ प्रतिशत जनसंख्या शहरमा, तथ्याङ्क विभागको सन्देश के ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १४ गते २०:४५
झण्डै ६७ प्रतिशत जनसंख्या शहरमा, तथ्याङ्क विभागको सन्देश के ? (भिडियो रिपोर्टसहित)

१४ माघ २०७८ काठमाडौं । नेपाल गाउँ नै गाउँले भरिएको देशको रुपमा संसारभर परिचित छ । नेपालको ग्रामीण क्षेत्र हेर्नकै लागि संसारभरका पर्यटक आउने गर्छन् । नेपालमा गाउँ हेर्न टाढा जानु पर्दैन । संघीय राजधानी काठमाडौंमै अझै कति ग्रामीण बस्ती छन् । तर तथ्याङ्क विभागको तथ्याङ्कमा भने दुई तिहाई जनसंख्या शहरमा बस्ने उल्लेख छ । झण्डै ६७ प्रतिशत जनसंख्या शहरमा बस्ने उल्लेख गरेर तथ्याङ्क विभागले के सन्देश दिन खोजेको होला ?

गाडी नै देख्ने नेपालीको संख्या दुई दशक अघिसम्म नगन्य थियो । गाडी चढ्न पाउनु धेरै नेपालीका लागि सपना थियो । अहिले पनि आकाशमा हवाई जहाज देख्दा चिल गाडी आयो भन्ने नेपालीको संख्या ठूलै छ । शहर घुम्नकै लागि घण्टौं हिडेर लामो यात्रा तय गर्ने नेपालीहरुको संख्या पचासौं लाखमा छ ।

भलै पहिले भन्दा अवस्था केही फेरिएको छ । मान्छे लड्ने बाटोका ठाउँमा धुलो उड्ने सडक बनेका पनि छन् । बेलाबेला आँखा झिम्काउने बिजुली अधिकांश स्थानमा पुगेको पनि छ। पानी नआए पनि धारा अधिकाँश गाउँमा छन् ।

सबभन्दा बढी त मोवाइलकै प्रगति भएको छ। तरपनि नेपालीहरु अझै धेरै ग्रामीण क्षेत्रमा बसोबास गर्छन् । नेपाली ग्रामीण इलाकाको जीवनशैली, रहन सहन बुझ्नकै लागि विदेशी पर्यटक नेपाल आउँछन् । तर तथ्याङ्क विभागले बुधबार प्रकाशन गरेको जनगणना २ हजार ७८ को नतिजाले भने धेरैलाई झस्काएको छ, कति नपत्याएर खिसिटिउरी गरिरहेका छन् ।

नेपालमा कूल जनसंख्या मध्ये ६६ दशमलव शून्य ८ प्रतिशत जनसंख्या शहरमा बसोबास गर्छन् भन्ने तथ्याङ्क सार्वजनिक भएको छ। । विभागको तथ्यांकअनुसार १ करोड ९२ लाख ९१ हजार ३१ जना शहरमा बस्छन् । बांकी ३३ दशमलव ९२ प्रतिशत अर्थात ९९ लाख १ हजार ४ सय ९ जना नेपाली ग्रामीण क्षेत्रमा बसोबास गर्छन् ।

यो तथ्यले प्रत्येक ३ नेपालीमा २ जना शहरमा बस्ने गरेको देखाउँछ । रोचक त के छ भने १० बर्ष अघि २ हजार ६८ सालको जनगणनामा देशको कुल जनसंख्याको १७ दशमलव शून्य सात प्रतिशत जनसंख्या शहरिया थियो भने ग्रामीण जनसंख्या झण्डै ८३ प्रतिशत थियो ।

अब प्रश्न उठ्छ यो दश वर्षको बीचको नेपालले साँच्चै सिंगापुर शैलीकै विकासमा छलाङ मारेको हो ? १० बर्षमा नेपालीको जीवनमा के उथलपुथल भयो ? यस बीचमा भएको भनेको देशभर नगरपालिकाको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। कर बढेको छ। २ हजार ६८ सालमा ५८ वटा नगरपालिका रहेकोमा त्यसपछि नगरपालिको संख्या बढाएर २ सय ९३ पुराइयो । नगरपालिकामा बस्ने सबै नागरिकलाई शहरिया मानेर जनगणना गरेकै कारण शहरमा बस्ने नागरिकको जनसंख्या धेरै देखिएको पो हो कि ?

नेपाल सरकारको कानूनमा नगरपालिकालाई शहर मान्ने र गाउँपालिकालाई गाउँ मान्ने व्यवस्था अनुसार नगरमा बस्नेहरुको जनसंख्या बढी देखिएको तथ्याङक विभागको भनाइ छ ।

विभागका निर्देशकले शहरलाई नगरपालिकासँग दाँजेर आफ्नो प्रारम्भिक तथ्याङकको ढाकछोप गर्न खोजेपनि विभाग आफै पनि यो तथ्यांकले झस्किएको छ । विभाथगले नपत्याएको शहरी जनसंख्या कसरी गणना गरियो होला त ? शहरी विकास मन्त्रालयको सहयोगमा सामुदायिक प्रश्नावली तयार गरेर जनगणनाकै क्रममा हरेक वडामा विवरण भरिएको र त्यो विवरणको अध्ययन पछि वास्तविक शहर को कि होइन् भन्ने तथ्य प्राप्त हुने विभागको भनाइ छ । अझ गज्जब र ताज्जुबलाग्दो कुरा त नेपाल सरकारको आधिकारिक निकायमै शहरको परिभाषा नै छैन ।

राजनीतिक स्वार्थमा अन्धाधुन्ध रुपमा घोषणा गरिएका देशभरका सबै नगरपालिकालाई शहर मान्दा शहर बन्न आवश्यक सामान्य मापदण्डको हेक्का गरेको देखिँदैन । नगरपालिकामा अहिले पनि बिकासको मेरुदण्ड सडकदेखि संचार, स्वास्थ्य, शिक्षा लगायत पूर्वाधारको अवस्था नै दयनीय छ । यसैले जनगणनामा जे भनिएपनि नेपालमा आज पनि धेरै जनसंख्या न्यूनतम सेवा सुविधाबाट बञ्चित छन् र ग्रामीण क्षेत्रमै बसोबास गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *