Main News

विदेशमा रहेका नेपालीको संख्या कति होला ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १४ गते २०:३८
विदेशमा रहेका नेपालीको संख्या कति होला ? (भिडियो रिपोर्टसहित)

१४ माघ २०७८ काठमाडौं । तपाईलाई थाहा छ, विदेशमा रहेका नेपालीको संख्या कति होला ? प्रायःले दिने जवाफ ४० देखि ५० लाख हुन्छ । तर, तपाईले गर्नुभएको अनुमान तथ्याङक विभागले प्रकाशित गरेको संख्यासँग मेल खाँदैन ।

जनगणना २०७८ को प्रारम्भिक तथ्याङकअनुसार २१ लाख ७९ हजार नेपाली अहिले विदेशमा छन् । दैनिक १५ सयको हाराहारीमा नेपाली विदेश जाने गरेको तथ्याङ्कसँग विभागको संख्या मेल खाँदैन । कसरी आयो त यस्तो तथ्याङ्क ?

तपाई के गर्दै हुनुहुन्छ, कसैलाई सोध्नुभयो भने अधिकांश युवाले विदेश जाने तयारीमा छु भन्ने जवाफ दिन्छन् । अर्थात वार्षिक ४ लाखको हाराहारीमा नेपाली वैदेशिक रोजगार र अध्ययनका लागि विदेशिने गरेका छन् । यसलाई आधार मान्ने हो भने २०६८ देखि २०७८ सम्ममा करिब ४० लाख नेपाली विदेशमा हुनुपर्ने हो । तर, तथ्याङ्क विभागको तथ्याङ्क अनुसार विदेशमा रहने नेपालीको संख्या २१ लाख ६९ हजार ४ सय ७८ मात्र रहेको छ ।

यहाँ विभागको तथ्याङ्कमै प्रश्न उठाउन थालिएको छ । विदेशमा रहेका धेरैले आफू छुटेको सामाजिक सञ्जालमार्फत गुनासो गरेका छन् । विभागले भने वैदेशिक रोजगारको शिलशिलामा स्वदेश फर्किने गरेर गएकाहरुको मात्र तथ्याङ्क समावेश गरिएको जनाएको छ । बसाई सरेरै गएकाहरुको गणना नभएको विभागले तर्क दिएको छ ।

विभागले वैदेशिक रोजगारीको सिलसिलामा मात्र विदेशिनेको संख्या मात्र किन समावेश गर्यो ? स्वदेश नफर्किने गरी विदेश जानेको तथ्याङ्क किन राखिएन ? विभागसाग प्रष्ट जवाफ छैन । नेपालबाट पछिल्लो समय नेपाल नफर्किनेगरी विदेश जानेको संख्या बढ्दो छ ।

पछिल्लो तथ्याङ अनुसार ७७ वटै जिल्लाबाट विदेश गएका छन् । सबैभन्दा बढि काठमाडौं, कैलाली, झापा, रुपन्देही र मोरङबाट विदेशिएका छन । सबैभन्दा कम मनाङ, डोल्पा, मुगु र मुस्ताङका नागरिक विदेशमा रहेको तथ्यांक छ । यस्तै प्रदेशगत अनुसार मधेश प्रदेशबाट विदेश जानेको संख्या कम छ ।

तथ्याङ्क विभागको तथ्याङ अनुसार यो दश वर्षमा विदेशमा रहेका नेपालीको संख्या २ लाख ४७ हजार ६ सय ८४ ले बढेको छ । त्यसमध्ये पुरुषको संख्या १ लाख रहँदा महिलाको करिब २ लाख पुगेको छ । यसैलाई आधार मान्दा २०६८ को तुलनामा पुरुषभन्दा विदेशिने महिलाको संख्या ७१ प्रतिशतले बढी छ ।

तथ्याङ्कमा २२ लाख नेपाली विदेशमा रहेको देखिए पनि छिमेकी भारतदेखि स्वदेश नफर्किने गरी विकसित राष्ट्रमा बसाई सर्ने नेपालीको संख्या बढ्दैछ । आफू र आफ्ना सन्ततीको भविष्यको सुनिश्चितता खोज्दै विदेशिनेको संख्या बढ्दैछ । तर, तथ्याङ्क विभाग फर्किने नेपालीको संख्या मात्र समावेश गरेर मिथ्याङ्क प्रस्तुत गर्दैछ । किन वास्तविक संख्या खोज्ने काम भएन ? प्रश्न उठ्न थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *