Main News

राहदानी लिन सेवाग्राहीलाई यस्तो सास्ती, सरकार मूकदर्शक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १४ गते १७:२५
राहदानी लिन सेवाग्राहीलाई यस्तो सास्ती, सरकार मूकदर्शक (भिडियो रिपोर्टसहित)

१४ माघ २०७८ काठमाडौं । नागरिकताको प्रमाणपत्रजस्तै हरेक नागरिकले राहदानी पनि सजिलै पाउनुपर्ने हो । सहज पहुँचका लागि जिल्लामै राहदानी लिन सकिने व्यवस्था पनि छ । तर राज्य संयन्त्रको कमजोर व्यवस्थापनका कारण राहदानी लिन सेवाग्राही काठमाडौं नै धाउनुपर्ने बाध्यता छ । काठमाडौं धाउँदा पनि सेवाग्राहीले सास्ती पाउन छाडेका छैनन् ।

धनुषाका धनवीर यादव राहदानीका लागि राहदानी विभाग धाएको ८ दिनभयो । सरकारले जिल्लामै राहदानी लिन सकिने व्यवस्था गरेको छ । तर धनवीर आफ्नै जिल्लामा काम नभएपछि काठमाडौं धाइरहनु भएको छ ।

गोरर्खाका धनबहादुर विकको समस्या पनि यादवकै जस्तो छ । राहदानीका लागि ५० हजार रुपैयाँ सकियो तर राहधानी बनेको छैन ।

राहदानी विभाग त्रिपुरेश्वरमा बिहान झिसमिसेमै लाइन नलागे सेवा पाउन मुश्किल छ । प्रशासनिक कर्मचारीमा कोरोना संक्रमण हुँदा धेरै काम रोकिएका छन् । एमआरपी पासपोर्ट बनाउने प्रक्रिया भन्दा ई–पासपोर्टको प्रक्रिया फरक छ । विद्युधीय प्रक्रियाबाट बनाउने ई–पासपोर्ट बन्न समय लाग्ने भएकाले सेवाग्राहीले सेवा पाउन समय लाग्ने राहादानी विभागले जनाएको छ ।

सरकारले सेवाग्राहीको सहजताका लागि गत मंसिर १ देखि नै ई–पासपोर्ट जारी गर्‍यो । अहिले ३२ जिल्लामा लागू भैसकेको छ । ई–पासपोर्टबारे धेरै नागरिक जानकार छैनन् ।

यसले पनि राहदानी लिनेको चाप विभागमा बढी परिरहेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले ई(पासपोर्टको सुविधा प्रभावकारी भएको दाबी गरेको छ ।

वर्षौदेखि राहदानीकै लागि नागरिकले कयौं समस्या झेलिरहेका छन् । यसको सहजताका लागि ई(पासपोर्टको सुविधा पनि कछुवाको गतिमा छ । सेवालाई प्रभावकारी बनाउन सरकारी निकायबीच समन्वय राम्रो बनाउनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *