Main News

अझै बनेन होल्डिङ सेन्टर, समुदायमा संक्रमणको जोखिम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १४ गते १७:०९
अझै बनेन होल्डिङ सेन्टर, समुदायमा संक्रमणको जोखिम (भिडियो रिपोर्टसहित)

१४ माघ २०७८ धनगढी । सुदूरपश्चिमको प्रमुख नाका गौरीफन्टा नजिकै गत भदौमै सम्पन्न भइसक्नुपर्ने होल्डिङ सेन्टर निर्माणको काम अझै अधुरो छ ।

संघीय सरकारको करिब २९ करोड लागतमा गत असारमा नेपाली सेनाले हनुमान कन्स्ट्रक्सनसँग निर्माण सम्झौता गरेको होल्डिङ सेन्टर निर्माण नहुँदा भारतबाट आउने नागरिक सिँधै घर जाँदा समुदायस्तरमा कोरोन संक्रमण फैलिएको छ ।

नेपाली सेनाले होल्डिङ सेन्टर बनाउन गत असार ३ गते हनुमान कन्स्ट्रक्सनसँग निर्माण सम्झौता गरेको थियो। सम्झौता अनुसार भदौ मसान्तमै होल्डिङ सेन्टर निर्माण भइसक्नुपर्ने हो, तर ३० प्रतिशत काम अझै बाँकी छ ।

होल्डिङ सेन्टरका ५९ वटा ब्लकमध्ये ३२ वटाको काम अन्तिम चरणमा पुगेको छ। केहीको जग हाल्ने काम मात्र पूरा भएको छ। निर्धारित अवधिमा काम पूरा नभएपछि पुसमसान्तसम्म म्याद थप गरिएको थियो । तर पनि काम सम्पन्न भएन, होल्डिङ सेन्टर नबन्दा भारतबाट आउने नेपालीहरु सिधै घर गइरहेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बडहरा र भीमदत्त नगरपालिका वडा नम्बर १८ सालघारीमा एक(एक हजार शय्याका होल्डिङ सेन्टर निर्माणको काम थालिएको थियो।

होल्डिङ सेन्टरका लागि टहरा निर्माणको काम जारी छ। सडक, बिजुली खानेपानी जडानलगायतको विषय पनि टुंगो लागेको छैन। निर्माणको जिम्मा पाएको हनुमान कन्स्ट्रक्सनले ५९ प्रतिशत भुक्तानी पाएको छैन। होल्डिङ सेन्टर निर्माणका लागि २८ करोड ८१ लाखमा सम्झौता भएको थियो। बजेट अभावकै कारण काममा ढिलाई भइरहेको र बजेट नआए काम अघि बढ्न नसक्ने निर्माण कम्पनीले जनाएको छ ।

प्रदेश सरकार पनि होल्डिङ सेन्टर निर्माणको पर्खाइमा छ । संघबाट समयमै बजेट निकासा नहुँदा समस्या भएको छ । प्रदेश सरकारले चाँडो बजेट निकासाका लागि पहल गरिरहेको जनाएको छ ।

भारतबाट आउने नेपाली नागरिकलाई सिधै घर नपठाई केही दिन होल्ड गराएर मात्र घर पठाउने उद्देश्यले होल्डिङ सेन्टर निर्माण थालिए पनि काम पूरा भएको छैन । तेश्रो चरणको कोरोना संक्रमण उच्चदरमा बढिरहेका बेलासम्म पनि होल्डिङ सेन्टर निर्माण नहुँदा यसको औचित्यमाथि प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *