Main News

चिसो काठमाडौं उपत्यका, न्यूनतम तापक्रम यस वर्षकै कम मापन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १२ गते २०:१६
चिसो काठमाडौं उपत्यका, न्यूनतम तापक्रम यस वर्षकै कम मापन (भिडियो रिपोर्टसहित)

१२ माघ २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा आज अघिल्लो दिनको तुलनामा चिसो बढेको छ । आज बिहानको न्यूनतम तापक्रम यस वर्षकै कम मापन भएकाले चिसो बढेको महसुस भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बुधबार काठमाडौं उपत्यका लगायत देशैभर चिसो बढेको छ । हिमालीलगायत सबैजसो क्षेत्रमा अघिल्लो दिनको तुलनामा चिसो बढ्यो । पश्चिमी वायुको प्रभावका कारण चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गत वर्षभन्दा यो वर्ष न्यून चापीय प्रणाली छोटोछोटो समयमा धेरैपटक सक्रिय भएको छ । धेरैजसो क्षेत्रमा विगत २ हप्तादेखि घाम नलागेको र यो क्रम अझै केही दिन लम्बिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पर्सिबाट तराई क्षेत्रत्रमा हुस्सु र कुहिरो खुल्ने अनुमान छ । उच्च पहाडी तथा हिमाली भूभागमा क्षणिक वर्षाको सम्भावना समेत रहेको छ ।

न्यूनतम र अधिकतम तापक्रम कम हुँदा चिसो बढ्छ । आकाश खुल्दा न्यूनतम तापक्रम घट्छ भने बादल लाग्दा अधिकतम तापक्रम घट्छ । यस्तो अवस्थामा चिसो महसुस हुन्छ ।

केही दिनयता काठमाडौंमा बिहान र बेलुकाको समयमा चिसो बढेको छ । चिसो अझै केहीदिन लम्बिने भएकाले सतर्कता अपनाउन विज्ञहरुले सुझाएका छन् । विशेषगरी बालबालिका र वृद्ध अवस्थाका नागरिकले विशेष ख्याल गर्नुपर्ने विज्ञको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *