अब पाइन थाल्यो सिटामोल (भिडियो रिपोर्टसहित)
११ माघ २०७८ काठमाडौं । कोभिड सङ्क्रमण दर उच्च रहेका बेला ज्वरो तथा दुखाइ नियन्त्रणका लागि आवश्यक मानिएको सिटामोल बजारमा पाइन थालेको छ । केही दिनअघि बजारमा सिटामोलको अभाव थियो । अहिले भने सिटामोल सहज रुपमा पाइन थालेको हो ।
कोरोनाको तेस्रो लहर शुरु भएसँगै सरकारी तथा निजी अस्पतालमा सिटामोल अभाव बन्यो । संघीय राजधानीमै सिटामोल अभाव भन्ने समाचारले सनसनी फैलियो । उपत्यकाका हरेक फार्मेसीमा समेत सिटामोल नपाएर नागरिकलले हैरानी बेहोर्नु पर्यो । कोरोनाको संक्रमण दर बढिरहेको र मौसमी फ्लूका कारण पनि सिटामोल अभाव देखियो । अहिले सिटामोल सहज रुपमा पाउन थालिएको छ ।
ज्वरो तथा जिउ दुख्दा आवश्यक मानिने सिटामोल स्टक राख्दा अभाव भएको विक्रेताहरु बताउँछन् । तर, अहिले सहज अवस्था रहेको फार्मेसीहरुले जानकारी दिएका छन् ।
औषिध कम्पनीमा समेत र मेटेरियल सक्किएका कारण सिटामोल अभाव भएको थियो । अहिले भने औषधि कम्पनीले फार्मेसीहरुमा सिटामोल अभाव हुन दिइएका छैनन् । जसका कारण नागरिकले पनि सिटामोल सहज रुपमा पाउन थालेका छन् ।
नेपाल औषिध लिमिटेडले काठमाडौं आसपासका जिल्ला र बाहिरी जिल्लारुमा औषधि वितरणको कामलाई तिब्रता दिएको छ । पोखरा, बुटवल, नेपालगञ्ज, जनकपुर, विराटनगरलगायतका ठाउँमा पठाइसकिएको छ । आवश्यक जिल्लाहरुमा समेत पठाउने तयारी भैरहेको जनाइएको छ ।
बजारमा सिटामोल नपाएको समाचारले आम नागरिकमा नकारात्मक सन्देश समेत प्रवाह गर्यो । जसले गर्दा नागरिकले चाहिनेभन्दा बढी नै स्टोर गर्न थाले । तर औषधि कम्पनीहरुले नागरिकको आवश्यकता अनुसार सिटामोल उत्पादन गर्ने दाबी गरेको छ ।
जब जब महामारी फैलिन्छ तब बजारमा सिटामोल जस्तो अति आवश्यक औषधिकै अभाव हुन्छ । महामारीलाई बहाना बनाएर फार्मेसीहरुले सिटामोल लुकाएर कालोबजारी गर्ने अवस्था अझै हट्न सकेको छैन । नागरिकले पनि आफुलाई चाहिनेभन्दा बढी स्टोरेज गर्दा वास्तविक बिरामीले नपाउने खतरा रहन्छ ।
प्रतिक्रिया