आज पनि देशका अधिकांश भू–भागमा मौसम बदलीसँगै वर्षा र हिमपात हुने
१० माघ २०७८ काठमाडौं । आज पनि देशका अधिकांश भू–भागमा मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको हुँदा आज पनि देशका अधिकांश भू–भागमा मौसम बदली रहने छ ।
महाशाखाले जारी गरेको मौसमसम्बन्धी बुलेटिन अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपात भइरहेको छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले देशभर मौसम बदली भई चिसो बढ्ने क्रममै रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया