Main News

वर्तमान सरकार असफल भएको एमाले अध्यक्ष ओलीको टिप्पणी

हिमालय टिभी
२०७८ माघ ९ गते १३:०३
वर्तमान सरकार असफल भएको एमाले अध्यक्ष ओलीको टिप्पणी

९ माघ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले वर्तमान सरकार असफल भएको टिप्पणी गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस वक्तव्य जारी गर्दै सरकार शक्ति पृथकीकरण र राज्यका अंगहरुको सन्तुलन मिलाउन असफल भएको आरोप लगाउनुभयो । मुलुकको अर्थतन्त्र, बाह्य सम्बन्ध र शान्ति–सुरक्षाको अवस्था लगायत सुधार गर्न वर्तमान सरकारले नसकेको उहाँको आरोप छ ।

वक्तव्यमार्फत एमालेले कोभिड महामारीविरुद्धको प्रतिकार्य लथालिङ्ग भएको र मुलुकले सामना गरिरहेका मुख्य चुनौतीका बारेमा आफ्नो दृष्टिकोण राखेको छ । असार २९ गतेदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका शेरबहादुर देउवाको छ महिने कार्यकाल गत पुष २९ गते पूरा भएको थियो ।

उहाँले शुक्रबार मात्र आफ्नो ६ महिनाको कार्यकालबारे जानकारी गराउनु भएको थियो । त्यसको दुई दिनपछि एमालेले प्रतिक्रिया जनाएको हो ।

अध्यक्ष ओलीले आज सम्बोधन गर्ने भनिए पनि कोरोना संक्रमण पुष्टि भएपछि प्रेस वक्तव्यमार्फत आफ्नो धारणा राख्नु भएको छ । ८ पृष्ठ लामो वक्तव्यको शुरुमै सर्वोच्च अदालतको परमादेशबाट गठित गठबन्धन सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो संकटतर्फ धकेलिदै गएको उल्लेख छ ।

वक्तव्यमा केही नेता र सर्वोच्च अदालतका पदाधिकारीको अवाञ्छित साँठगाँठबाट संविधानको अपव्याख्या गर्दै वर्तमान सरकार गठन भएको आरोप छ । त्यस्तै न्यायालयमा देखिएको विकृति अन्त्य गर्न सरकार असफल बनेको र न्यायपालिकालाई पङ्गु र निरिह बनाउन नेताहरु नै सक्रिय बनेको आरोप छ ।

त्यस्तै सभामुख नै प्रतिपक्षी दललाई विभाजन गर्न उद्दत बनेको आरोप पनि लगाइएको छ । अर्थतन्त्रका सबै सूचकहरुले गम्भीर अनिष्टको सङ्केत गरिरहेको उल्लेख गर्दै पूर्ववर्ती सरकारले ल्याएको लोकप्रिय बजेटलाई विस्थापन गरेर नयाँ बजेट ल्याएको यो सरकारको कार्यकालमा विकासको गति ठप्प रहेको एमालेले दाबी गरेको छ ।

भारतले मिचेको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र फिर्ता ल्याउन पहल नगरेको आरोप लगाउँदै एमालेले भारतले त्यस क्षेत्रमा निरन्तर संरचना निर्माण गर्दा पनि सरकार मौन बसेर कम्फर्टेबल बन्न खोजेको टिप्पणी गरेको छ ।

बाह्य सम्बन्धमा गम्भीर असन्तुलन र विचलनहरू देखा परेको बक्तव्यमा उल्लेख छ । त्यस्तै निर्वाचनबारे पनि सरकारको नियतमा एमाले अध्यक्ष ओलीले प्रश्न उठाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *