राजनीति

कोरोना रोकथाम गर्न सरकारको आदेश, यसरी मापदण्ड मिच्दै मन्त्रीहरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ४ गते २०:३९
कोरोना रोकथाम गर्न सरकारको आदेश, यसरी मापदण्ड मिच्दै मन्त्रीहरु (भिडियो रिपोर्टसहित)

४ माघ २०७८ काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै आएको छ । तर, सरकार चलाउने मन्त्रीदेखि दलका नेताहरुसम्म बेपर्वाह कार्यक्रम गर्न मस्त छन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फैलिन नदिन एउटा स्वास्थ्य मापदण्ड जारी गरेको छ । मास्कको प्रयोग, सामाजिक दूरी, भिडभाड नगर्ने जस्ता विधिहरु अपनाउनुपर्ने हो । तर, तपाईलाई थाहा छ ? सरकारका मन्त्रीहरु नै यो मापदण्डको खिल्ली उडाउँदैछन् । यो हेर्नुहोस्– स्वास्थ्य मन्त्री विरोध खतिवडाको शैली । पुस २९ गते कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा उहाँले मास्क नै नलाई भाषण ठोक्दैहुनुहुन्छ ।

सरकारकै मापदण्ड लत्याउन गृहमन्त्री बालकृष्ण खाँण पनि कम देखिनुभएन । यो अर्को दृश्य हेरौं –

माघ २ गते २४औँ भूकम्प सुरक्षा दिवसमा आयोजित कार्यक्रममा गृहमन्त्री खाणले स्वास्थ्य मापदण्डलाई धोती लगाइदिनुभयो । मन्त्रीज्यू, यसरी कोरोना संक्रमणको नियन्त्रण होला त ? खाँण मात्र होइन, शहरी विकास मन्त्री रामकुमारी झाँक्री पनि के कम । स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै २५ जनाभन्दा बढी भेला पारेर आफ्नो कामको फेहरिस्त नै सुनाउन थाल्नुभयो ।

सरकारकै नियम तोड्न किन नछाडेको मन्त्रीज्यू, के जनताले मात्रै नियम पालना गरेर कोरोना रोकथाम होला ? प्रश्न मन्त्री झाँक्रीलाई ।
परराष्ट्रमन्त्री नारायण खड्का पनि कम्ति हुनुहुन्न । उहाँलाई पनि लाग्दै होला मन्त्रीलाई त कोरोनाले छुदैछुदैन । त्यसैले मास्क गोजीमा राखेर मानिसको भिड जम्मा गरेर तस्वीर खिचाउन उत्साहित हुनुहुन्थ्यो । यो हेरौं ।

अर्का बहादुर मन्त्री बन्ने होडमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले पनि कम हुनुभएन ।

तर, मन्त्रीज्यूलाई त कोरोना पोजेटिभ नै भएछ । मानिसका भिड जम्मा गर्दै धर्मशाला धाउने मन्त्री आलेलाई स्वास्थ्य मापदण्डले छुने कुरै भएन, त्यसैले उहाँलाई त कोरोनाले छोयो नि ।

यी त हाम्रा क्यामेराले कैद भएका मन्त्रीहरुले मापदण्ड मिचेका केही दृश्यहरु मात्र हुन् । यी बाहेक मन्त्री र नेताज्यूहरुलाई कोरोनाको डरै छैन । गृह मन्त्रालयले सरकारले कोरोना भाइरसको तेस्रो लहरलाई दृष्टिगत गर्दै पुस २६ गते २५ जनाभन्दा बढी भेला हुन नपाउने भन्दै सबै जिल्ला प्रशासन कार्यालयहरूमार्फत् संक्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको थियो । तर, मन्त्रीहरूले मानिसहरूको बाक्लो भीड गराएर स्वास्थ्य मापदण्डबिना नै कार्यक्रम गर्ने गरेका छन् ।

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ठूला कार्यक्रम नगर्न सर्कुलर जारी गरेको छ । यसलाई सकारात्मक मान्नुपर्छ । अरु दलले किन नसिक्ने । कोरोना महामारी नियन्त्रणका लागि विभिन्न देशले तय गरेका स्वास्थ्य सावधानीका मापदण्ड उल्लंघन भएपछि विश्वका चर्चित व्यक्तित्वहरूले माफी मागेका घटना बाहिरिने गरेका छन् । तर, नेपालमा भने सरकारी निकाय तथा राजनीतिक दलहरू आफैले बनाएको मापदण्ड उल्लंघन गर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्