Main News

विज्ञ भन्छन्–धर्मशालामा होटल सञ्चालन गर्न दिनु नै सैद्धान्तिक रुपमै गलत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ३ गते २०:५३
विज्ञ भन्छन्–धर्मशालामा होटल सञ्चालन गर्न दिनु नै सैद्धान्तिक रुपमै गलत (भिडियो रिपोर्टसहित)

३ माघ २०७८ काठमाडौं । पशुपति धर्मशालामा बतास समूहलाई होटल सञ्चालन गर्न दिनु नै सैद्धान्तिक रुपमा नै गलत भएको पाइएको छ । छिमेकी भारतको आर्थिक सहयोगमा निर्माण गरिएको धर्मशाला मुख्यतः पशुपतिनाथ मन्दिरमा आउने नेपाली र भारतीय तीर्थयात्रीको सेवाका लागि बनाइएको थियो ।

पशुपतिनाथ मन्दिर दर्शन र तीर्थाटनका लागि नेपाल र भारतबाट बर्षेनी हजारौं तीर्थयात्रीहरु आउने गर्छन् । टाढा टाढाबाट आउने तीर्थयात्रीमध्ये कतिपय होटलमा बास बस्न रुचाउँदैनन् । उनीहरु होटलमा भन्दा धर्मशाला, आश्रममा बस्न मन पराउछन् । र कतिपय होटलमा खर्च गर्न नसक्ने तिर्थालु हुन्छन् ।

गौशालामा एउटा धर्मशाला भए पनि सुविधा सम्पन्न धर्मशालाको अभाव थियो । सन् २ हजार १४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक नेपाल भ्रमणमा आउँदा सुविधा सम्पन्न धर्मशाला बनाउने बिषयले चर्चा पायो । मोदीकै अग्रसरतामा पशुपतिनाथ क्षेत्र विकास कोषको जग्गा रहेको तिलगंगा आँखा अस्पताल नजिक सुविधा सम्पन्न धर्मशाला बन्ने भयो । त्यसका लागि कोषको करिब १९ रोपनी जग्गा प्रयोगमा ल्याउने र धर्मशालाको निर्माणको सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने सहमति भयो ।

त्यसैअनुसार टेण्डर प्रक्रिया गरेर धर्मशाला निर्माण गरियो। नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेको धर्मशाला भवन सञ्चालनको सम्पूर्ण जिम्मेवारी कोषले पायो । धर्मशाला सञ्चालन गर्ने खाका तयार गर्न कोषले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (न्याथम) लाई जिम्मा ।

धर्मशालालाई धर्मशाला अनुरुप सञ्चालन गर्ने खाका तयार गर्नुपर्नेमा न्याथमले होटल अनुसार नै सञ्चालन गर्ने गरी खाका तयार गर्यो । त्यो पनि सस्तो भाडामा बतास अर्गनाइजेशनलाई दिने गरी खाका तयार पारियो ।

पशुपति क्षेत्र बिकास कोषको सञ्चालक परिषद्ले निर्णय गरेर कस्लाई र कसरी धर्मशाला सञ्चालन गर्न दिने टुंगो नै नलगाई तत्कालीन सदस्य सचिव डाक्टर प्रदीप ढकालले बतासलाई होटलको रुपमा सञ्चालन गर्ने गरी दिनुभयो । यहीबाटै धर्मशालालाई होटलका रुपमा चलाउने गलत कदमको सुरुवात भयो ।

दैनिक चार सयको हाराहारीमा तीर्थ यात्री बस्न सक्ने गरी धर्मशाला बनाइएको थियो । न्यून भाडामा धर्मशाला पाएको बतासले तारे होटलको रुपमा सञ्चालन गर्न थाल्यो र तीर्थयात्रीबाट चर्को रकम असुल्न थाल्यो । धर्मशालालाई होटल बनाउन भारतले आर्थिक सहयोग नगर्ने र कोषले पनि जग्गा उपलब्ध नगराएको पूर्व सचिव टण्डन बताउनु हुन्छ ।

भारतले बनाइदिएको धर्मशाला व्यापारिक प्रयोजन त्यो पनि होटल बनाउँदा यस्ले नेपालको विश्वसनीयतामा पनि प्रश्न उठ्न सक्ने र दुई देशबीचको सम्बन्धमा खलल पुग्न सक्नेतर्फ सचेत हुनुपर्ने जानकारहरु बताउँछन् । दुई देशबीच सांस्कृतिक र भावनात्मक सम्बन्ध जोड्न सफल पशुपति क्षेत्र भित्र भारतकै सहयोगमा निर्माण भएको धर्मशालालाई कौडीको भाउमा व्यापारिक प्रयोजनमा लगाउने कार्यले गलत सन्देश प्रवाह गरेको छ ।

अर्को तर्फ धार्मिक भ्रमणमा आउने कतिपय कमजोर आर्थिक अवस्था भएका व्यक्तिले पाउनुपर्ने निशुल्क सेवा खोसिन पुगेको छ । त्यो बाहेक कानून मिच्ने र दलाल पोस्ने काममा पहुँचवालाहरु कुन हदसम्म गिरिरहेका छन् भन्ने उदाहरणसमेत यो देखाइदिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *