Main News

बतासको बदमासीः धर्मशाला तोडफोड गरेर विलासी होटल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ३ गते १८:२०
बतासको बदमासीः धर्मशाला तोडफोड गरेर विलासी होटल (भिडियो रिपोर्टसहित)

३ माघ २०७८ काठमाडौं । काठमाडौंको तिलगंगामा रहेको नेपाल–भारत मैत्री धर्मशालामा दुई वर्षदेखि ‘होटल आनन्द पशुपति’ सञ्चालनमा छ । पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई सुपथ मूल्यमा खान र बस्न सुविधा दिने उद्देश्यले भारत सरकारको सहयोगमा बनाइएको धर्मशालामा अहिले बतास समूहले व्यापार गरिरहेको हो।

बतासले धर्मशालाको भित्री संरचना तोडफोड गरेर विलासी होटल बनाएको छ भने शुल्क पनि सामान्य तीर्थालुले धान्नै नसक्ने तारे होटल सरहको छ ।

धर्मशाला पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर बनाइएको हो । तर यो धर्मशालामा अहिले बतास समूहले ‘होटल आनन्द पशुपति’ संचालन गरिरहेको छ।

धर्मशाला भनेर प्रचार गरिए पनि यहाँको शुल्क कुनै तारे होटलको भन्दा कम छैन । यहाँको तोडफोड गरेर बनाइएको संरचना र शुल्क सुनेर आइतबार निरीक्षण गर्न पुग्नु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री प्रमेबहादुर आलेले आश्चर्यमा परेको अभिव्यक्ति दिनुभयो ।

८० कोठा रहेको यो धर्मशाला नामको होटलभित्र १२ वटासम्म बेड भएको ‘कमन रुम’ देखि एसी डिलक्स र स्वीट बेडरुमहरु छन् । जसको शुल्क १ हजारदेखि ७ हजारसम्म तोकिएको छ । स्वीट रुमको शुल्क ६ हजार ७ सय ६५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै एसी डिलक्स रुमको एक रातको ३ हजार ५ सय ६७ रुपैयाँ शूल्क तोकिएको छ। ननएसी रुमको भने १ हजार २ सय ३० रुपैयाँ तोकिएको छ । जबकी होटल व्यवस्थापन तथा पर्यटन तालिम केन्द्रले धर्मशालामा बस्ने तीर्थालुसँग प्रतिरात न्यूनतम ३ सय ५० रुपैयाँदेखि अधिकतम २ हजार ९ सय रुपैयाँ लिन सिफारिस गरेको थियो ।

यस्तै होटलमा ग्राउन्डफ्लोरमा सुविधा सम्पन्न कफी शप संचालनमा छ । सभा, सम्मेलन आयोजना गर्नका लागि व्यवस्थित हल निर्माण गरिएको छ । सबैभन्दा माथिल्लो तलामा बतासले स्पा, ज्याकुजी, सौना, स्टीम वाथ, जीम हाउस निर्माण गरिरहेको छ । यी सबै संरचनाहरु मापदण्ड विपरीत विना अनुमति निर्माण गरिएको हो ।

यहाँ होटल महँगो मात्रै छैन । बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत राखिएको छ ।

धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटल चलाउने गरी २०७६ वैशाख ३० मा बतास अर्गनाइजेसनलाई वार्षिक १ करोड ५ लाखको न्यून दरमा ठेक्कामा दिइएको हो । धर्मशाला व्यवस्थित हुनुपर्छ तर मापदण्ड मिच्न पाइँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *