Main News

स्थानीय तह चुनावको मिति तत्काल घोषणा गर्न गाउँपालिका र नगरपालिका संघको माग

हिमालय टिभी
२०७८ माघ ३ गते १३:२०
स्थानीय तह चुनावको मिति तत्काल घोषणा गर्न गाउँपालिका र नगरपालिका संघको माग

३ माघ २०७८ काठमाडौं । नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ र जिल्ला समन्वय समिति महासंघले स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल शुरू गर्न माग गरेका छन् ।

तीन वटै संस्थाका अध्यक्षले आज संयुक्त वक्तव्य निकाली निर्वाचित स्थानीय तहहरूको कार्यकाल समाप्त हुँदै गरेको र संविधानले जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेको भन्दै निर्वाचन प्रक्रिया शुरू गर्न माग गरेका हुन् ।

वक्तव्यमा निर्वाचित जनप्रतिनिधिहरूको अवधि आगामी जेठ ७ गते सकिने भएकाले तत्काल निर्वाचन प्रक्रिया शुरू गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको छ ।

संविधानले नै जनप्रतिनिधिविनाको स्थानीय सभा र कार्यपालिकाको व्यवस्था गरेको छैन र म्याद थपको पनि व्यवस्था गरेको छैन भन्दै वक्तव्यमा आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड रहेको स्मरण गराइएको छ ।

संविधानको कार्यान्वयन र संघीयताको संस्थागत विकासका लागि तोकिएको समयमा नै आवधिक निर्वाचनको विकल्प नभएकाले निर्वाचनको वातावरण बनाउन माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *