राजनीति

नेपाल आमाको छातीमा भारतीय सेनाको परेड, मौन नेपाली नेता र सरकार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २ गते २०:५२
नेपाल आमाको छातीमा भारतीय सेनाको परेड, मौन नेपाली नेता र सरकार (भिडियो रिपोर्टसहित)

२ माघ २०७८ काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गर्नु नौलो हुनै छाड्यो । कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा त भारतले आफ्नो फौज नै खडा गरेर नेपाली अस्मितामाथि प्रहार गर्दै आएको छ ।

आफ्नो भूमि फिर्ता ल्याउन बलियो कूटनीतिक प्रयास गर्नुको सट्टा आफूलाई राष्ट्रवादी देखाउन दलहरु विज्ञप्तीकै नौटंकीमा रुमल्लिएका छन् । सत्तामा रहेको कांग्रेसका महामन्त्रीद्वयले भूमि फिर्ता ल्याउनुपर्छ भन्दै गर्दा सरकार अलमलमै छ । अर्कोतिर प्रधानमन्त्रीसँग वार्ता गर्दै समस्याको समाधान खोज्नुपर्ने प्रमुख प्रतिपक्ष पनि वक्तव्यबाजीमै आफूलाई राष्ट्रवादी देखाउन खोज्दैछ ।

नेपाली भूमिमा सैन्य परेड गराउँदै आएको भारतले सीमा विवादको समाधान वार्ता र संवादबाटै गर्ने बनावटी जवाफ दिंदै आएको छ । तर, व्यवहारमा संवादका लागि नेपाली प्रयासमा पानी खन्याउन पछि पर्दैन । ५० वर्षदेखि नेपाली भूमि कालापानीमा सैन्य परेड गर्दै आएको भारतले लिपुलेक हुँदै मानसरोवर पुग्ने सडक विस्तारलाई रोकेको छैन ।

नेपालीमा एउटा उखान छ – ‘मुखमा राम राम बगलीमा छुरा’ । यो उखान ठ्याक्कै भारतले नेपालप्रति गर्ने व्यवहारमा लागू हुन्छ । भारतले नेपालसँगको सम्बन्धलाई लिएर भन्दा एउटा भन्छ तर व्यवहारमा गर्छ अर्को । सुस्ता, कालापानी, लिम्पयाधुरा, लिपुलेक लगायतका नेपाली भूमि भारतले वर्षौदेखि अतिक्रमण गर्दै आएको छ ।

कालापानीमा सैनिक क्याम्प बनाएर नेपाली भूमि अतिक्रमण गरेको भारतले पछिल्लो पटक एकतर्फी रुपमा लिपुलेक जाने सडक निर्माण र विस्तार गरिहेको छ । करिब हप्ता दिन अघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारले लिम्पयाधुरा जाने सडक विस्तार गरिरहको सगौरव अभिव्यक्ति दिए ।

नेपाली भूमि लिपुलेक भारतीय प्रधानमन्त्री मोदी र भाजपाका लागि चुनावी एजेण्डा बनेको छ । मोदीको अभिव्यक्तिलाई लिएर नेपालमा विरोध भैरहेको छ । मोदीको खुल्लम खुल्ला अभिव्यक्ति आउँदा नेपाली राजनीतिक दलहरु भने वक्तव्यवाजीमै रमाउन छाडेका छैनन् ।

दलहरुको वक्तव्यबाजीपछि काठमाडौंस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तीमा सीमा विवादका बिषयमा आफ्नो अडान यथावत रहेको र सो जानकारी नेपाल सरकारलाई दिइएको उल्लेख छ ।

सीमा विवाद समाधानका लागि दुई देशका बीचमा अन्तर सरकारी संयन्त्र रहेको र सोही संयन्त्रका माध्यमबाट वार्ता र संवादबाट समस्याको निकास निकाल्नु पर्ने उसको भनाइ छ । एकातिर वार्ता र संवादको कुरा पनि गर्ने अर्कोतर्फ नेपाली भूमि अतिक्रमण गर्ने काम पनि जारी राख्ने, भारतको यो दोहोरो चरित्र मात्रै नभएर हेपाहा प्रवृति भएको कुटनीतिक जानकार बताउँछन् ।

वार्ता र संवादबाटै समस्याको हल हुनुपर्ने भएपनि भारतको प्रवृत्तिले नेपाली भूमिको अतिक्रमण तत्काल हट्ने संकेत देखिएको छैन । भारतले वार्तालाई अघोषित अस्वीकार गरिरहँदा नेपालले कुनै स्टेप चाल्न सकेको छैन । अर्थात भारतले नमाने अन्तर्राष्ट्रियस्तरमा आफ्नो भूमि मिचिएको यर्थाथ प्रस्तुत गर्न सकेको छैन । जानकारहरु यसमा नेपालकै कुटनीतिक असफलता रहेको बताउँछन् ।

नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालले भारतले जारी गरेको विज्ञप्तीलाई सकारात्मक रुपमा लिएर सरकारले कूटनीतिक पहल गरी नेपाली भूमि फिर्ता ल्याउनु पर्छ भन्ने धारणा राख्नुहुन्छ । विगतमा आफ्नो पार्टीको सरकारले चुच्चे नक्सा छाप्दा जमिन फिर्ता ल्याउन चुनौति दिनेहरु नै आज सरकारमा रहँदा वार्ता गर्न नसक्नु कमजोरी भएको बताउनुहुन्छ ।

आफ्नो भूमि फिर्ता ल्याउन सरकारले पहल गर्न नसकेको यर्थाथ रहेपनि दलहरुले समेत आफ्नो दायित्व पुरा गर्न सकेका छैनन् । आफूलाई राष्ट्रवादी देखाउन तल्लिन दलहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराउन नसक्नु कमजोरी हो ।

एकपछि अर्को अर्घेल्याई गर्दै आएको भारतले नेपालमा भारत विरोधी धारणा विकास भएको भन्न पनि छाडेको छैन् । भारतले नेपालसंग राम्रो, असल र मित्रवत सम्बन्ध चाहेको हो र नेपालमा भारत विरोधी धारणा नबनोस भन्ने चाहेको हो भने निर्सत भारतले पनि नेपालसंग सोही अनुसार व्यवहार गनुपर्छ । र सरकारले पनि भारतसँग प्रष्ट कुरा राख्न सक्नुपर्छ । त्यतिले पनि नभए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन डराउनुहुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्