आज पनि देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

२ माघ २०७८ काठमाडौं । आज पनि देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेपनि देशका केही भू–भागमा मौसम बदली रहने जनाएको छ ।
आज बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको र तराईका केहि स्थानहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ।
यस्तै आज राति गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ ।
महाशाखाले देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया