राजनीति

सरकारसँग एमालेको एघार प्रश्न, एमालेतर्फ कति ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १ गते २०:४८
सरकारसँग एमालेको एघार प्रश्न, एमालेतर्फ कति ? (भिडियो रिपोर्टसहित)

१ माघ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको औंंल्याएको छ । तर, कोरोना महामारी शुरु हुँदा तत्कालिन नेकपा र पछि एमालेकै नाममा अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्वमा हुनुहुन्थ्यो ।

त्यसबेला सत्तारुढ दलमा राजनीतिक किचलो शुरु भयो, शक्ति प्रदर्शनको नाममा आमसभा र जुलुस निकाल्दै स्वास्थ्य मापदण्ड तोडियो । अहिले एमालेले त्यसबेला किन महामारी नियन्त्रणमा काम गर्न सकेन ? प्रश्न, एमालेतर्फ नै तेर्सिएको छ ।

शनिबार बिहान एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, सचिव योगेश भट्टराई सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवलाई भेटेर कोरोना महामारी नियन्त्रणमा सरकारका ११ वटा कमजोरी औंल्याएको छ।

एमाले त्यही पार्टी हो आफैं सरकारमा हुँदा नै कोरोना फैलाउन सहयोग पुग्ने गरी काठमाडौंमा बिशाल प्रदर्शनमा उत्रिएको थियो ।
तत्कालीन नेकपाको तर्फबाट केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको समयमा कोरोनाको पहिलो लहर आयो । चीनको वुहानबाट नेपाल आएका एक नेपालीमा २ हजार ७६ माघ १० मा पहिलो पटक कोरोना पुष्टि भएको थियो ।

यो महामरी फैलिंदै अहिलेसम्म करिब साढे नौ लाख पुगिसकेको छ । सबै भन्दा ठूलो क्षति दोस्रो लहरमा भएको थियो । डेल्टा भेरियन्टका कारण धेरैको मृत्यु भयो भने हजारौं संक्रमित हुन पुगे । तत्कालिन नेकपाको पुष्पकमल दाहाल – माधव नेपाल समूह एकातिर र ओली समूहबीच विवाद बढ्दै गयो ।

विवाद कतिसम्म बढ्यो भने कोरोनाको जोखिमलाई वेवास्ता गर्दै नेकपाका दुवै समूह शक्ति प्रदर्शनको प्रतिस्पार्धामा उत्रिए । तत्कालिन प्रधानमन्त्री ओलीबाट २०७७ पुस ५ मा पहिलो पटक संसद विघटन गरेको विरोधमा तत्कालिन नेकपाको दाहाल– नेपाल समूहले २ हजार ७७ माघ २७ गते काठमाडौंको प्रदर्शनी मार्गमा हजारौं कार्यकर्ता उतारेर विरोधसभा राखे ।

दाहाल– नेपाल समूहको प्रदर्शनअघि माघ २३ गते सरकारको नेतृत्व गरिरहेको नेकपाको ओली समूहले पनि दरबारमार्गमा यस्तै प्रदर्शन गरेको थियो । पार्टीको विवाद आफ्नो ठाउँमा थियो तर जनस्वास्थ्यको कुनै मतलबै नगरी नेकपाका नेताहरुले काठमाडौं केन्द्रित शक्ति प्रर्दशन गरे ।

नेकपाका दुई समूहको प्रदर्शन यस्तो बेला भएको थियो जतिबेला विभिन्न देश कोरोनाको दोस्रो लहरसंग जुधिरहेका थिए । र नेपालमा पनि दोस्रो लहर आउने आंकलन हुँदै थियो । र काठमाडौंमा गरिएको त्यो शक्ति प्रदर्शन कारण बन्न सक्ने विज्ञहरुले चेतावनी दिँन थालिसकेका थिए । नभन्दै विरोध प्रदर्शन गरेको केही समय पछि नेपालमा कोरोनाको दोस्रो लहर शुरु भयो ।

दोस्रो लहर यति घातक सिद्ध भयो कि अस्पतालमा संक्रमितले उपचार नपाएर ज्यान गुमाउने अवस्था आयो । यो त दलहरुले नै स्वास्थ्य मापदण्डको पालना नभएको एउटा प्रसंग मात्र हो । त्यसबेलाको सरकारले होल्डिङ सेन्टरदेखि अस्पतालहरुमा पर्याप्त सेवा सुविधा उपलब्ध गराउन सकेन ।

उल्टै ओम्नी प्रकरणका रुपमा स्वास्थ्य सामग्री खरिदमा घोटाला भएको भन्दै तत्कालिन सरकारको चर्को आलोचना भयो । अस्पतालहरुमा अक्सिजनको उपलब्धता कम भयो, जसका कारण धेरैले ज्यान गुमाउनुपर्यो ।

हिजो कोरोनाको प्रवाह नगरी जनप्रदर्शन गर्ने एमालेले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ११ बुँदे कमजोरी उसैको सरकारका पालामा पनि उस्तै थियो । सरकारका ११ कमजोरी औंल्याउँदै एमालेका उपाध्यक्ष नेम्वाङ नेतृत्वको टोलीले ध्यानाकर्षण पत्र नै प्रधानमन्त्री देउवालाई थमायो ।

सरकारले प्रतिबद्धता अनुसार खोप लगाउन नसकेको, स्टोरमा खोप भएर पनि जनतालाई उपलब्ध गराउन नसकेको, बुस्टर डोज दिने व्यवस्था मिलाउन नसकेको, सबै पालिकामा जनस्वास्थ्य निरीक्षकको व्यवस्था नभएको, सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा टे«स्टिङ र ट्रेसिङ गर्ने काम नभएको एमालेको आरोप छ ।

त्यस्तै होल्डिङ सेन्टरको व्यवस्था नभएको, तीनै तहका सरकारबीच समन्वय नभएको लगायतका आरोप एमालेले लगाएको छ । साथै २२ बुँदाको ध्यानार्कषण पनि गराएको छ । तर, आफ्नै नेतृत्वमा बनेको सरकारले काम गर्न नसकेको एमालेले स्वीकार गरेको छैन । जेहोस् वर्तमान सरकारले पनि पूर्वतयारी गर्न नसकेको यर्थाथ चाँही हाम्रा सामु यथावत् छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्