Main News

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, ४६३६ संक्रमित थपिँदा ३५० संक्रमणमुक्त

हिमालय टिभी
२०७८ माघ १ गते १६:४४
कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, ४६३६ संक्रमित थपिँदा ३५० संक्रमणमुक्त

१ माघ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण बढेको छ । १४ हजार ५ सय ५६ जनाको परीक्षण गर्दा ४ हजार ६ सय ३६ जनामा अर्थात ३१ दशमलव ८४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

१० हजार ४ सय १२ पीसीआर परीक्षणमा ३ हजार ७ सय ३ र ४ हजार एक सय ४४ एन्टिजेन परीक्षणमा ९ सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हिजो ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो पटक काठमाडौँमा मात्र १ हजार ५ सय ९१ जना सङ्क्रमित थपिएका छन् । ललितपुरमा ४ सय ८६ र भक्तपुरमा १ सय ४२ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो पटक थप ३ सय ५० जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख १६ हजार ३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५ सय ८४ रहेको छ ।

मन्त्रालयका अनुसार ७ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा बढी छन् । काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, मोरङ र सुनसरीमा सक्रिय संक्रमित पाँच सयभन्दा बढी छन । त्यस्तै आठ जिल्लामा २ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

सबैभन्दा बढी सक्रिय सङ्क्रमित काठमाडौँमा छन् । काठमाडौंमा ९ हजार ६१ जना सक्रिय सङ्क्रमित छन् । ललितपुरमा २ हजार ३ सय ८२ तथा भक्तपुरमा १ हजार ३ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो पटक थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ६ सय १७ जनाको मृत्यु भइसकेको छ । देशभर थप ४ लाख ३५ हजार एक सय ९३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *