Main News

कोरोनाको तेस्रो लहरः काठमाडौंमा ‘स्मार्ट लकडाउन’, यसो भन्छ प्रशासन

हिमालय टिभी
२०७८ पुष २८ गते २०:३७
कोरोनाको तेस्रो लहरः काठमाडौंमा ‘स्मार्ट लकडाउन’, यसो भन्छ प्रशासन

२८ पुस २०७८ काठमाडौं । कोरोना भाइरस नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेसँगै विश्वका विभिन्न देशले लकडाउन गर्न थालेका छन् । भारतमा दैनिक डेढ लाखभन्दा धेरै संक्रमित हुन थालेपछि नेपालमा पनि तेस्रो लहरको त्रास बढेको छ । संक्रमणको जोखिम नियन्त्रणका लागि काठमाडौंमा मंगलबार रातीदेखि लागू हुने गरी केही निषेधका आदेश जारी गरिएको छ ।

कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि लकडाउन अचुक उपाय मानिन्छ । तर, २१औं शताब्दीको प्रतिष्पर्धात्मक समयमा मानिसको आवतजावत् नै ठप्प पार्दा यसले अर्थतन्त्रमा नकारात्मक असर पुर्याउँछ । यही यथार्थलाई हेक्का राख्दै मंगलबार राती १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि काठमाडौंमा आंशिक निर्देशनात्मक आदेश मात्र जारी गरिएको छ ।

आदेश अनुसार सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी मानिसको जमघटलाई बर्जित गरिएको छ । कार्यालय, होटल रेष्टुरेन्ट, सिनेमा हल, पार्क जस्ता सार्वजनिक स्थानमा जानेलाई माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गरिएको छ । तर ३६ प्रतिशत नागरिक त्यो पनि पहुँचवालाले मात्र खोप पाएको अवस्थामा गरिएको निर्णयलाई विज्ञले अव्यवहारिक भनेका छन् । तर, आदेशका विषयमा जिल्ला प्रशासन कार्यालयको तर्क अर्कै छ ।

आदेश अनुसार माघ १५ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा कक्षा संचालन गराउन रोक लगाइएको छ। सार्वजनिक यातायातमा पनि क्षमताभन्दा बढी यात्रु नचढाउन, अनावस्यक हिँडडुल नगर्न निर्देशनात्मक आदेश जारी गरेको छ । आदेश पालना भए नभएको हेर्न संयन्त्र बनाइएको त छ तर संयन्त्र कति प्रभावकारी हुन्छ, हेर्नै बाँकी छ । तथापि, नागरिक आफै सचेत भएमा मात्र संक्रमणको चेन विच्छेद गर्न सकिन्छ ।

कोरोना संक्रमण बढ्दै जाँदा यसले भयावह अवस्था आउन सक्छ । त्यसैले पनि नागरिक आफैं सचेत हुनु जरुरी छ । सार्वजनिक स्थानमा जाँदा मास्क लगाउने, साबुन पानीले नियमित हात धुने, स्यानिटाइजर प्रयोग गर्ने बानी बसालेमा संक्रमणको जोखिम घट्छ ।

नागरिकले आफू संक्रमणबाट जोगिने र अन्यलाई संक्रमणबाट जोगाउनसमेत भूमिका खेल्न सक्दछन् । तसर्थ सरकारको आदेश र मुख ताक्नेभन्दा पनि महामारीको बेलामा सचेत नागरिकको भूमिका निर्वाह गर्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *