Main News

भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप

हिमालय टिभी
२०७८ पुष २८ गते ८:३३
भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप

२८ पुस २०७८ भादगाउँ । भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् ।

खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप लगाएका हुन् ।

विद्यार्थीको सहजतालाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा नै खोप केन्द्र राखी खोप दिएको हो ।

स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारका अनुसार मङ्गलबारसम्म जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाभित्रका विद्यालयमा खोप अभियान सम्पन्न भएको छ । त्यस्तै मध्यपुरथिमि र भक्तपुर नगरपालिकाका विद्यालयमा मङ्गलबारदेखि खोप अभियान सुरु भएको मिजारले बताउनुभयो ।

कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न खोप अभियान सञ्चालन भइरहेको छ । “विद्यालय बन्द भए पनि स्थानीय तह र विद्यालयले समन्वय गरी खोप लगाउनेछन”, उहाँले भन्नुभयो ।

भक्तपुर नगरपालिकाले खोप अभियान बिहान ९ देखि ३ बजेसम्म सञ्चालन हुने र खोप लगाउन विद्यार्थीले विद्यालयको परिचयपत्र अनिवार्य साथमा ल्याउनुपर्ने प्रावधानको व्यवस्था गरेको छ । खोप अभियानका लागि भक्तपुरले विभिन्न विद्यालय तथा कलेजमा खोप केन्द्र तोकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *