Main News

पृथ्वी जयन्ती: सामाजिक सञ्जालमा मात्रै सम्झना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २७ गते २०:४१
पृथ्वी जयन्ती: सामाजिक सञ्जालमा मात्रै सम्झना (भिडियो रिपोर्टसहित)

२७ पुस २०७८ काठमाडौं । नेताको बोली र व्यवहारप्रतिको अविश्वास मौलाउँदै छ । सामाजिक संजालमा नेताहरुले दिने अभिव्यक्ति क्षणिक लोकप्रियताका लागि मात्र भएको पनि प्रमाणित हुँदै आएको छ ।

पृथ्वी जयन्तीका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि ठूला नेताहरुले केही शब्द खर्चिएर शुभकामना त दिए । तर यो दिनलाई विशेष रुपमा मनाउन कुनै आवस्यक ठानेनन् ।

नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाहको जन्मजयन्ती देशभर स्वतःस्फूर्त विभिन्न कार्यक्रम गरी मनाइएको छ । हामीले पढ्दै र सुन्दै आएका पृथ्वीनारायण शाहको देन हरेक नेपालीले सायद बिर्सिन सक्दैन । तर, सत्ता र शक्तिमा पुगेपछि नेताहरु राष्ट्रनिर्माताको योगदान भुल्छन् ।

फगत सार्वजनिक खपतका लागि सामाजिक सञ्जालमा मात्र शब्द कोर्नेहरु नेताहरु यो दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा सरकारीस्तरमै मनाउन अन्देखा गर्छन् । २०६२–६३ को आन्दोलन पश्चात राजसंस्थाको अन्त्य गर्दै गणतन्त्र भित्र्याइयो । पृथ्वीनारायण शाहको शालिक ढालियो । राष्ट्रिय एकता दिवस खारेज गरियो । अनि बाइसे–चौबिसे राज्यलाई एउटै मालामा जोड्ने पृथ्वी नारायण शाहलाई बिर्सियो ।

तर, केही नेताहरु अझै पनि उनै राष्ट्र निर्माताको नाम बेचेर क्षणिक लोकप्रियता बटुल्ने ध्याउन्नमा छन् । नपत्याए हेर्नुस एमाले नेता महेश बस्नेतको ट्वीट ।

मेरा साना दुःखले आज्र्याको मुलुक होइन भन्ने भनाई राखेर माननीय बस्नेतले शाहले भौगोलिक एकीकरण र नेपालीको परिचय स्थापित गराउन पु¥याउनु भएको योगदानको स्मरण गर्नुभएको छ । तर, माननीयले संसदमा कहिल्यै पनि राष्ट्रिय एकता दिवस सरकारी स्तरबाटै मनाउन पर्छ भनेर भन्नु भएन । न सरकारमा हुँदा भन्नु भयो, न अहिले प्रतिपक्षी हुँदा ।

देशको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ३८ शब्द खर्चेर ट्वीटरमा पृथ्वी नारायण शाहको देशको स्मरणमात्र गर्नु भएको छैन । उहाँले पृथ्वी नारायण शाहले बनाएको नेपालमा भारतले गरेको अतिक्रमणविरुद्ध लेख्नु भएको छ ।

तर, प्रधानमन्त्री रहेका आफ्ना सभापतिलाई केही भन्न नसकेर हो की उहाँ ट्वीटरमा चिर्बिराइरहनु भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि पृथ्वीनारायणप्रति शब्द खर्चिनुभयो । तर सरकारको नेतृत्व गरेको कांग्रेसका यी नेताहरुले दिवसका रुपमा मनाउन कतै पहल गर्नुभएन ।

नेकपा एमालेका सचिव योगेश भट्टराइले पनि राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना दिनुभएको छ । राष्ट्रपति र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राष्ट्रिय एकता दिवसमा शुभकामना दिनुभएको छ ।

तर, झिना मसिना चाडमा सार्वजनिक विदा दिन हतार गर्ने सरकारले राष्ट्रिय एकता दिवमा विदा दिन आवस्यक ठानेन । कुरा सार्वजनिक विदाको होइन, राष्ट्र निर्माताको यो योगदानलाई सम्झिन र उहाँलाई सम्मान गर्न सरकारले कञ्जुस्याईँ गरेको छ ।

जनतालाई एकताको महसुस गराउनका लागि सबै देशमा स्वतन्त्रता दिवस, राष्ट्रियता दिवस जस्ता दिवस मनाइन्छ । नेपालमा भने गणतन्त्र आएपछि न प्रजातन्त्र दिवस रह्यो, न राष्ट्रिय एकता दिवस नै ।
पृथ्वी नारायण शाहले निर्माण गरेको राष्ट्रमा रजाईँ गर्नेहरुलाई उनै राजाको स्मृतिमा धुमधामका साथ मनाउन किन असहज ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *