आज पनि देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना
२७ पुस २०७८ काठमाडौं । आज देशका आंशिक भू–भागमा मौसम बदली रहने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको हुँदा प्रदेश १ र प्रदेश २ लगायत पहाडी भू–भागहरूमा सामान्य बदली रहेको छ ।
बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ । महाशाखाले आज दिउँसो देशभर आंशिक बदली रहने बताएको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
आज राति देशभर आंशिक बदली रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश, बागमती प्रदेश तथा प्रदेश नं. १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।
प्रतिक्रिया