उपत्यकाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

२७ पुस २०७८ काठमाडौं । काठमाडौं र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि फाइजर खोप लगाइँदैछ ।
सरकारले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरे पनि बालबालिकाका लागि विद्यालयमै खोप केन्द्र निर्धारण गरिएको छ । पालिकाहरुले विद्यालयसँग समन्वय गरेर खोप केन्द्र तोकेका छन् ।
भक्तपुरमा अस्तिदेखि नै खोप लगाउन शुरु भए पनि काठमाडौं र ललितपुरमा भने आजदेखि खोप दिन लागिएको हो । काठमाडौंमा मात्रै करिब दुई लाख ७० हजार बालबालिकालाई खोप लगाउने योजना छ ।
यसअघि ५७ जिल्लाका बालबालिकालाई मोडर्नाको पहिलो खोप दिइएको छ । काठमाडौं उपत्यकासहित बाँकी २० जिल्लामा फाइजर खोप दिने भनिए पनि सरकारले अहिलेलाई काठमाडौं र ललितपुरमा मात्र फाइजर खोप दिन लागेको हो ।
काभ्रेमा पनि बालबालिकालाई खोप दिन सुरु भएको छ । चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा पनि बालबालिकालाई छिट्टै खोप लगाइने सरकारले जनाएको छ
प्रतिक्रिया