कोरोनाविरुद्धको खोप वितरण, कुन प्रदेशका कतिले लगाए ? (भिडियो रिपोर्टसहित)

२६ पुस २०७८ काठमाडौं । सरकारी तथ्याङ्क अनुसार हालसम्म विभिन्न स्रोतबाट नेपाललाई ३ करोड ५४ लाख कोरोनाविरुद्धको खोप प्राप्त भएको छ । त्यसमध्ये २ करोड १७ लाख ४० हजारभन्दा बढी खोपको मात्रा प्रयोग गरिसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोपको वितरणमा प्रदेशगत अवस्था कस्तो छ त ?
हालसम्म दुबै मात्रा खोप लगाउने नागरिकको संख्या १ करोड ११ लाख ३४ हजार रहेको छ । अर्थात ३६ प्रतिशतले मात्र अहिलेसम्म पूर्ण खोप पाएका छन् । सरकारले पुस मसान्तसम्ममा ६६ प्रतिशतलाई पूर्ण खोप लगाउने लक्ष्य राखेअनुरुप यो करिब आधा मात्र हो । एक डोज खोप लगाउनेको संख्या करिब ४९ प्रतिशत मात्र छ ।
प्रदेश १ मा खोपको अवस्था
प्रदेश १ सरकारले यही पुस मसान्तभित्र कुल जनसंख्यको ६० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ । प्रदेश सरकारका अनुसार लक्ष्य अनुसार अहिलेसम्म करिब आधाले मात्र खोप लगाएका छन् ।
प्रदेश १ को कुल जनसंख्या ४९ लाख ९५ हजार १६२ हो । जसमा खोप लगाउने लक्षित जनसंख्या ३२ लाख ७५ हजार ८ सय ६६ रहेका छन् । सोमबारसम्म तिमध्ये १५ लाख ९२ हजार ७ सयले मात्र पूर्ण खोप लगाएका छन् । यो लक्षित वर्गको ३१ दशमलव ७ प्रतिशत हो । अब १६ लाख नागरिकले पूर्ण खोप लगाएपछि प्रदेश १ सरकारले पुस महिना भित्र कुल लक्ष्य पूरा हुन्छ ।
प्रदेश १ मा २४ लाख ८१ हजार ८२ जनाले पहिलो खोपको मात्रा लगाएका छन् भने १८ बर्ष भन्दा माथिको उमेर समुहका मानिसले पहिलो डोज लगाउने ४९ दशमलव ७ प्रतिशत रहेका छन् ।
प्रदेश २ मा खोपको अवस्था
पुसको अन्तिम साता बित्नै लाग्दा प्रदेश २ मा ३८ प्रतिशतले मात्र खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। अहिलेसम्म एक डोज मात्रा लगाउनेको सङ्ख्या करिब ५० प्रतिशत छ।
बागमती प्रदेशमा खोपको अवस्था
वागमती प्रदेशमा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतले पूर्ण खोप पाइसकेका छन् । काठमाडौं उपत्यकामा सबैभन्दा बढी खोप पाउने संख्या रहेको छ ।
गण्डकी प्रदेशमा खोपको अवस्था
गण्डकी प्रदेशमा खोप लगाउनेको सकारात्मक तथ्याङ्क छ । यो प्रदेशमा ७८ प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्ण खोप पाइसकेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । १२ लाख ६० हजार ६१२ ले पूर्ण खोप लगाएका छन्।
जोनसन एन्ड जोनसनसहित १५ लाख २१ हजार ९५४ जनाले पहिलो मात्रा खोप लगाएका छन् । यो कुल खोप पाउने संख्याको ९२ प्रतिशत हो ।
१२ देखि १७ वर्ष उमेर समूहका २ लाख ८६ हजार ९४ बालबालिका प्रदेशमा छन् । तीमध्य १ लाख ६३ हजार ३९३ जनाले पहिलो खोप लगाएका छन् । तथ्याङ्क अनुसार ६० प्रतिशत बालबालिकाले पहिलो खोप लगाइ सकेका छन् भने ३ हजार ५७ बालबालबालिकाले दोस्रो चरणको खोप पाइसकेका छन् । गण्डकीमा २५ लाख जनसंख्या रहेको तथ्याङक छ ।
कर्णाली प्रदेशमा खोपको अवस्था
कर्णाली प्रदेशमा १८ लाख जनसंख्या मध्ये १२ लाखलाई खोप लगाउनुपर्छ । हालसम्म ४४ प्रतिशतले पूर्णखोप पाएका छन् । एक डोज मात्र खोप लगाउने ६६ प्रतिशत नागरिक रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत र लुम्बिनी प्रदेशमा ४१ प्रतिशतले मात्रै पूर्ण मात्राको खोप लगाएका छन्। सरकारले राखेको लक्ष्य अबको ५ दिनमा पुरा भइहाल्ने सम्भावना भने छैन । तर, खोपको तीव्रता दिने सरकारले दाबी गर्दै आएको छ ।
प्रतिक्रिया