राजनीति

पृथ्वीनारायण शाहको योगदानलाई देशले किन बिर्सिँदैछ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २६ गते २०:१३
पृथ्वीनारायण शाहको योगदानलाई देशले किन बिर्सिँदैछ ? (भिडियो रिपोर्टसहित)

२६ पुस २०७८ काठमाडौं । गणतन्त्र स्थापनापछिका सरकारहरुले आफूलाई मन लागेको समयमा सार्वजनिक बिदा दिने, स्वार्थ मिल्ने कुरामा दिवस नै घोषणा गरिदिने गरेको देखिन्छ । तर देशलाई एकताको सूत्रमा बाँधेर कयौँ स–साना राज्यलाई एकता गरेका पृथ्वीनारायण शाहलाई किन देशले बिर्सिँदै गएको छ ?

विश्वका अधिकांश देशले राष्ट्रिय पर्वका रुपमा स्वतन्त्रता दिवस मनाउँछन् । हाम्रो देश कहिल्यै कसैको अधिनमा हुनु परेन । त्यसैले हामीलाई स्वतन्त्रता दिवस के हो र किन मनाउने भन्नेमा कुनै चासो र चिन्ता रहेन । तर के देशकै स्थापना गर्नेको पनि स्मरण गर्नु नपर्ने हो त ?

स्वतन्त्रता दिवस नमनाए एकता दिवस पनि नमनाउने त ? केही वर्षयता, खासगरी गणतन्त्र स्थापनापछि हरेकजसो पुस महिनाको अन्तिम सातातिर यो प्रश्न दोहोरिने गरेको छ । नेपालको एकीकरणकर्ता पृथ्वीनारायाण शाहको जन्मजयन्तीको दिन पुस २७ गतेलाई एकता दिवसका रुपमा मनाउने गरिएकोमा पछिल्लो पटक यो दिवसमा सरकारले बिदा दिन र सरकारीस्तरबाट कार्यक्रम गर्न छोडेको छ ।

पछिल्लो पटक २०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ११ वर्षपछि राष्ट्रिय एकता दिवसमा सरकारीस्तरमै कार्यक्रम गरेको थियो । बाइसे र चौबिसे राज्यका रुपमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका पृथ्वीनारायण शाहलाई राष्ट्रपिताका रुपमा वा राष्ट्र नायकका रुपमा हेर्नेभन्दा पनि अहिलेका राजनीतिक दलको स्वार्थी नेतृत्वका रुपमा विश्लेषण गर्न थालिएको छ ।

२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि फागुन ७ गतेलाई प्रजातन्त्र दिवसका रुपमा मनाइँदै आएको थियो । बहुदल स्थापनापछि पनि प्रजातन्त्र दिवसलाई निरन्तरता दिइयो । तर गणतन्त्र स्थापनापछि भने राष्ट्रिय एकता दिवससहितका यी पुराना ऐतिहासिक पर्वहरु भुल्दै जान थालिएको छ ।

गणतन्त्र स्थापना वरपर पछिल्ला राजाहरुसँगै पृथ्वीनारायण शाहका सालिकहरु पनि तोडफोड भए । वंशीय शासन प्रणालीले मुलुक समृद्ध हुन नसकेको भन्ने बुझाइमा पछिल्ला राजाहरुमाथि जति आक्रोश पोखे पनि भुरेटाकुरे राज्यका कारण भइरहेको दोहन रोकेर आधुनिक राज्य निर्माणको नेतृत्व गरेका पृथ्वीनारायण शाहको पनि त्यही स्तरको अपमान हुनु सान्दर्भिक देखिँदैन ।

पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई पर्वका रुपमा मनाउने विषय केही वर्षयता राप्रपाको एजेण्डा मात्र बनिरहेको छ । अहिले पनि राजतन्त्रको वकालत गरिरहेका कारण पृथ्वीनारायणलाई सम्झिने जिम्मा राप्रपालाई लगाइदिए जस्तो गरिएको छ ।

पृथ्वीनारायण शाहले नै आर्ज्याको मुलुकमा शासन गरिरहेका दलहरुले उनैलाई चाहीँ बिर्सिने बरु आफू अनुकुलका दिवसहरु सिर्जना गरेर बिदा दिने प्रवृत्ति बढिरहेको पाइन्छ । मुलुक संघीयतामा गएपछि त बिदा वा दिवसमा झन कुनै पनि खालको एकरुपता देखिँदैन । संघीय सरकार, प्रदेश सरकार वा स्थानीय तहहरुले मनलाग्दी दिवस र बिदा घोषणा गर्ने गरेका छन् ।

छिन्नभिन्न राज्यहरुलाई एक बनाएर मुलुकको नाम दिएका पृथ्वीनारायण शाहलाई बिर्सिँदै गएका ‘नयाँ राजा’हरुले आफ्नो पार्टीको नेता गाउँमा आउँदासमेत सार्वजनिक बिदा दिने गरेका छन् ।

सदियौँसम्मका लागि एउटा सिंगो देश सुम्पिएर गएका पृथ्वीनारायण शाहको आत्मै भड्किने गरी नयाँ राजाहरुको उत्पत्ति भइरहेको छ । मुलुक संघीयतामा गएपछि प्रदेश सरकार वा स्थानीय सरकारहरुमा नागरिकले अपनत्व महसुस गर्न सकिरहेका छैनन् । नयाँ शासकहरु राजाभन्दा बढी परिवारवाद र आफन्तवादको दलदलमा फसिरहेका छन् । व्यक्तिगत लाभ हुने मूल्यमा जस्तोसुकै निर्णय गर्न पछि नपर्ने प्रवृत्ति बढिरहेको छ । तर राष्ट्र निर्मातालाई नै प्रतिगामीको व्यवहार गरेर गणतन्त्रयताका सरकारहरु कसलाई रिझाउन खोजिरहेका छन् ?

इतिहास नै मेटाएर कसलाई राष्ट्र निर्माताका रुपमा स्थापित गर्ने प्रयत्न गरिँदैछ ? तमाम प्रश्न उठ्न थालेका छन् । अहिले त पृथ्वीनारायण शाहले गरेको एकताको पहल वा वीरताको अवमूल्यनसमेत गर्न थालिएको छ । बरु शक्ति आर्जनका लागि एकीकरण गरेको वा युद्धका क्रममा कीर्तिपुरवासीहरुमाथि अत्याचार गरेको भन्ने प्रचार धेरै गर्न थालिएको छ ।

मुलुकलाई एकतामा बाँध्न पृथ्वीनारायण शाहले क्रान्ति गरेका थिए भन्ने स्वीकार गर्ने हो भने क्रान्तिका क्रममा भएका कतिपय घटनालाई निश्चित घटनासँग मात्रै तुलना गर्नुपर्छ । तर राष्ट्र निर्माण र त्योसँगै उनका दिव्योपदेशहरुको उच्च मूल्यांकन गर्दै राष्ट्रले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनु पर्ने होइन र ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्